१५ मंसिर २०७५, शनिबार

काठमाडौं । युरोपियन युनियन (इयु) ले हवार्इ उड्ययनका क्षेत्रमा नेपालमाथि लगाइएकाे कालाेसूची प्रतिबन्ध हटाएन, बरु थप्दै गएकाे छ । इयुले  वर्षौंदेखि नेपालका विमान कम्पनीहरूमाथि लगाउँदै आएको कालोसूची कायमै राखेर यहाँकाे नेपाल वायुसेवा निगमलगायत कम्पनीहरुमाथि थप झड्का दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले यसै वर्ष नेपाल ईयूको कालोसूचीबाट हट्ने दाबी गर्दै अाए पनि इयुले भने उनीहरुलार्इ नै अाश्चर्यमा पार्नेगरी कालाेसूची यथावत रहने जानकारी दिएकाे छ । इयुकाे याे नरन्तरताले अर्बाैँ ऋण गरेर भित्र्याइएका नेपाल वायु सेवा निगमका  दुई वटा ‘वाइडबडी’ जहाजलार्इ ठूलाे धक्का लागेकाे छ । उडान गन्तव्य नपाएर जहाज किनेदेखि थन्क्याउन निगम लाचार भएकाे छ ।

सरकारले इयुकाे कालाेसूचीबाट हटाउन भनी हवाई सुरक्षाका मापदण्ड बनाउन र कार्यान्वनयन गर्न करोडौं रकम खर्चिएको छ । तर प्रगति हुनुकाे साटाे उल्टै वाइडबडी विमान खरिदमा अर्बाैँ रकम घाेटाला भएकाे अाराेप लागेकाे छ । नयाँ लिएका विमानकाे गुणस्तरमै समेत प्रश्न उठेकाे छ ।

युरोपलाई नै लक्षित गर्दै निगमले वाइडबडी भित्र्याए पनि इयुकाे पछिल्लाे निर्णयले निगम अझै घाटामा जाने निश्चित छ । शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै इयुले कालो-सूची नहटेको जानकारी दिए छ । उसकाे प्रतिवेदनअनुसार कालाेसूचीबाट नहटेसम्म नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोपेली युनियनमा आबद्ध देशहरूमा प्रवेश पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV