१४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।  याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार साउन, भदौ असोज र कार्तिकमा नेपालले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। योमध्ये निर्यातको हिस्सा ५.७ प्रतिशतमात्रै छ। अर्थात नेपालले २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात भएको केन्द्रले जनाएको छ। यस अनुसार देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

समीक्षा अवधिमा नेपालको कुल निकासी १०.७ प्रतिशतले कुल पैठारीमा ३८.१  प्रतिशतले वृद्र्धि भएको देखाउँछ। पहिलो चौमासिकको यो तथ्याङकले नेपालको अर्थतन्त्र थप आयातमूखी बन्दै गएको पुष्टि गरेको छ। आ.व. २०७४/७५ को पहिलोे चार महिनामा निर्यात भन्दा आयात १३.२ गुणाले बढी रहेकोमा समीक्षा अवधिमा आयात निर्यात अन्तर १६.५ गुणा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV