१३ मंसिर २०७५, बिहीबार

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा योजना लागू भएको घोषणा कार्यक्रमका लागि ६७ लाखभन्दा बढी खर्च भएको जनाएको छ ।

तामझामपूर्ण कार्यक्रम र प्रचार–प्रसारमा धेरै लगानी गरिएको भन्दै आलोचना भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले प्रचार–प्रसार र व्यवस्थापनमा ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जानकारी दिनुभएको हो ।

यस्तै, सोमबारको मन्त्रिपरिषद् बैठकले रेल्वे ऐन २०२० खारेज गरी रेल्वेसम्बन्धि विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको र नेपाल–भारत सुरक्षासम्बन्धि द्विपक्षीय परामर्श समूहको बैठक मंसिर २७ र २८ गते काठमाडौंमा गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी पनि दिइयो । यसैगरी, सरकारले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन बुझाउने म्याद मंसिर २५ गतेसम्म दिएको छ । सरकारले राष्ट्रपति विद्या भण्डारीको पोल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी मंसिर १८ र १९ गते सो सम्मेलनमा सहभागी हुनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV