१३ मंसिर २०७५, बिहीबार
  • तारा आचार्य

विराटनगर । संखुवासभामा निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजनामा स्थानीय वस्तु र सेवाको अत्याधिक उपयोग गर्न ठेकेदार कम्पनी तथा स्थानीय आपूर्तिकर्ताहरु बीच छलफल भएको छ ।

स्थानीय वस्तु र सेवाको उपयोग गर्न लगानी बोर्ड र सतलज अरुण जलविद्युत विकास कम्पनीले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अरुण तेश्रो जलविद्युत परियोजनाको लागत, निर्माण सामग्री, निर्माण अवधि, आपूर्तिकर्ताले गर्नुपर्ने कार्य बारे ठेकेदार कम्पनी र नेपाली आपूर्तिकर्ताहरुलाई जानकारी गराइएको छ ।

नेपाल औद्योगिक विकास योजना अन्तर्गत निर्माण हुन लागेको सो परियोजनामा नेपालका आपूर्तिकर्ताहरुबाटै बढी भन्दा बढी वस्तुहरु प्रतिस्पर्धात्मक मूल्यका आधारमा खरिद गरि परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । सन् २०२२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत परियोजनामा करिब साढे १४ लाख घनमिटर गिटी बालुवा, साढे ४ लाख मेट्रिक टन सिमेण्ट र करिब ५० हजा मेट्रिक टन स्टील खपत हुने अनुमान छ । यि लगायत अन्य वस्तु र सेवाहरु समेत स्थानीय स्तरबाटै उपलब्ध गराउन छलफल गरेको सतलज अरुण जलविद्युत विकास कम्पनीले जनाएको छ ।

करिब ६ महिना देखि निर्माण कार्य शुरु भएको सो जलविद्युत परियोजनाको लागत भने १ खरब ४ अरब रुपैया बाट बढेर १ खरब २० अरब पुग्ने परियोजनाका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्माले जानकारी दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा एक नम्बर प्रदेशका विभिन्न जिल्लाका उद्योगी व्यवसायी र ठेकेदार तथा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV