१३ मंसिर २०७५, बिहीबार

काठमाडौँ। रेमिटेन्सबाट धानिएको मुलुुकको अर्थतन्त्र उच्च आयातका कारण संकटमा पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा गर्दै विदेशी विनिमय संचिति घटेको तथ्याङक सार्वजनिक गरेपछि अर्थतन्त्रमा असर पर्ने सम्भावना बढेको हो ।

नेपाल राष्ट्र बैंकले ८ महिनासम्मको बस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय संचिति कायम गर्ने लक्ष्य राखेको थियो । तर पछिल्लो समय आयातमा उच्च बृद्धि भएपछि संचिति घटने देखिएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ७ दशमलव ९ महिनाको आयात धान्ने विदेशि मुद्रा संचिति रहेको जनाएको हो । आयात बढदै गएमा विदेशी विनिमय संचितिमा थप दबाब पर्ने जोखिम पनि बढेको छ ।

पछिल्लो तथ्याङक अनुसार पहिलो त्रैमासमा रेमिटेन्स ३७ प्रतिशत भन्दा बढिले बढेको भएपनि ब्यापार घाटा झण्डै ४६ प्रतिशतले बढदा अर्थतन्त्र दवावमा पर्ने सम्भावना बढेको हो । तीन महिनाको कुल व्यापार घाटा ३ खर्ब ५० अर्ब पुगेको छ । अर्कोतर्फ सरकारले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य समेत राखेको छ । तर समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहेपनि व्यापार घाटा बढन जाँदा अपेक्षित लक्ष्य पुरा नहुने पक्का भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि हुनु, विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँमा अवमूल्यन हुनु लगायतका कारणले अर्थतन्त्र दवावमा रहने देखिएको हो ।

यसको लक्षण पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको समस्या पनि एक हो । राष्ट्र बैंकले २० प्रतिशत सम्म कर्जा बृद्धि गर्न सुझाव दिएपनि बैकहरुले आक्रामक बन्दै २५ प्रतिशत बढिले ऋण बढाइसकेका छन् । यसले बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको छ । ब्याजदर बढने खतरा पनि बढेको छ । जसले गर्दा शेयर परिसूचकहरु घटिरहेका छने । यसले अर्थतन्त्रमा दिर्घकालीन समस्या ल्याउने सम्भावना बढेको छ ।

LIVE TV