१२ मंसिर २०७५, बुधबार
  • गङ्गा पराजुली

पशुपतिनगर ,रासस । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ ।

दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो । माई नगरपालिका, चुलाचुली गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ तर प्राविधिक सहयोग नपाउँदा यसलाई व्यावसायिक रूप दिन नसकिएको त्यहाँका किसानको गुनासो छ । त्यस क्षेत्रमा तीन हजार बढी किसानले केरा खेती गर्ने गरेका छन् ।

यस क्षेत्रमा उत्पादित केरा दिनहुँ झापाको शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौँको कालीमाटी बजारमा पुग्ने गर्दछ । उत्पादित अधिकांश केरा झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा सङ्कलन भई काठमाडौँ पठाउने गरिएको माई नगरपालिकाका प्रमुख दीपक थेवेले बताउनुभयो । दक्षिणी क्षेत्रमा उत्पादित केरा ‘कालीखोलाको केरा’ नामले काठमाडौँमा पनि लोकप्रिय बनेको छ ।

केरा खेती गर्दा आम्दानीका साथसाथै अन्य बोट विरुवाको संरक्षणसमेत हुने भएकाले किसान केरा खेतीमा आकर्षित भएका हुन् । मलजल र प्राविधिक सेवा नपाउँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रितरूपमा खेती गर्ने गरेका छन् । सरकारीस्तरबाट प्राविधिक सहयोग नपाउँदा केराको बोट नै सुक्ने र गभारो रोगका कारण मेहनतअनुसारको आम्दानी लिन नसकेको किसान सन्तराम योङ्हाङले बताउनुभयो ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयले दुई वर्षअघि मोरङको कानेपोखरीबाट दुई हजार उन्नत जातको रोबेस्ट्रा जातको केराका बिरुवा ल्याएर किसानलाई वितरण गरे पनि त्यसपछि मलजल र केराखेती प्रवद्र्धनको कार्यक्रम नल्याएको नगरपालिकास्थित कृषि सेवा केन्द्र प्रमुख अनिलकुमार तिम्सिनाले बताउनुभयो ।

चुरे क्षेत्रमा केरा खेतीको उच्च सम्भावना भएपछि चालू आर्थिक वर्षदेखि नगरपालिकाले केरा खेतीलाई तेस्रो खेतीमा राखेको छ । केरा खेतीलाई किसानको तेस्रो आम्दानीको स्रोतमा राखेर चालु आवदेखि प्रवद्र्धनको काम शुरु भएको नगर प्रमुख थेवेले बताउनुभयो । “दक्षिणी क्षेत्रको माटो र हावापानी केराखेतीका लागि अत्यन्तै राम्रो छ”, उहाँले भन्नुभयो, “हामीले ८०० मिटर माथि कफी, तल्लो क्षेत्रमा सुपारीसँगै केरा खेतीको प्रवद्र्धनका लागि विज्ञ टोली बनाएर अध्ययन गरिरहेका छौँ ।”

प्रारम्भिक अध्ययनबाट केराखेतीमा गभारो रोग नियन्त्रण गर्नुपर्ने र झापाको शनिश्चरेमा रहेका व्यापारीबाट भएको बजारीकरणको एकाधिकार अन्त्यका लागि आफैँ ‘अक्सन बजार’ ९मोलमोलाइ बजार० खोल्ने योजना बनाएको प्रमुख थेवेले जानकारी दिनुभयो ।

नगरपालिका–४ स्थित शुक्रबारेमा कृषि बजारको अक्सन बजार बनाउने र प्रशोधन केन्द्र खोलेर प्याकेजिङसम्मको काम गर्ने योजना बनाइएको छ । झापाको अर्जुनधारास्थित शनिश्चरेमा व्यापारीको एकाधिकार तोड्न जर्मन सहयोग संस्था जिआईजेडको सहयोगमा अक्सन बजार खोल्ने र सुख्खा बनाउने काम चालु आवमा हुने उहाँको भनाइ छ ।

“शनिश्चरेमा व्यापारीले भनेको दाममा केरा दिएन भने कुहिने अवस्था आउँछ”, व्यापारीको एकाधिकार तोड्ने काम यसै आवदेखि गर्छौं”, उहाँले भन्नुभयो । किसानले भने उन्नत जातको बिरुवा, मलजल, प्राविधिक सहयोग र केराखेती प्रवद्र्धनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । रोग नियन्त्रणको काम तत्काल हुनुपर्ने किसान तेजबहादुर घिमिरेले बताउनुभयो ।

स्थानीय निजी बगानमा रहेका केरा झापाका व्यापारीले बगानमै घरीको ५० देखि २०० रुपैयाँसम्ममा खरीद गरी बजारमा लगेर रु ५०० भन्दा बढीमा बिक्री गर्ने गरेका छन् । राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्र्याक्टरमा राखेर सोझै आफैँ स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । गत आर्थिक वर्ष यहाँ २५ हेक्टर बढी क्षेत्रफलमा गरिएको केरा खेतीबाट २६० मेट्रिक टन उत्पादन भई रु दुई करोड मूल्य बराबरको कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV