१२ मंसिर २०७५, बुधबार

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले ‘वाइडबडी’ विमान किनेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मासँग छलफल गरेपछि समितिले विमान किन्दा निगमले सार्वजनिक खरिद ऐन पालना गरे÷नगरेकोबारे सात दिनभित्र राय दिन आज प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो ।

सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले ‘वाइडबडी’ खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्नुपर्ने बताएपछि समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । सचिव रेग्मीले धेरै विषयमा निगमले कार्यालयसँग सहकार्य नगरेकाले ‘वाइडबडी’ किन्दा सार्वजनिक खरिद ऐन पालना भएको÷नभएकोबारे जानकारी नरहेको समितिलाई अवगत गराउनु भएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले टेन्डर गर्दा नै रोल्स रोयस इन्जिन र ‘ए’–थ्री टू जिरो एयरबस तोकिनु ऐनविपरित भएको स्पष्ट पारेको छ । यसअघि आइतबार बसेको बैठकमा सभापति भरत शाहले ‘वाइडबडी’ खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV