१२ मंसिर २०७५, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा दरबन्दीको आधाभन्दा बढी कर्मचारी अझै रिक्त रहेका छन् ।

दुई हजार ६१३ जना कर्मचारीको दरबन्दी रहेकोमा हालसम्म ४६ प्रतिशत कर्मचारी मात्रै पूर्ति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्य सचिव नारायणप्रसाद विडारीका अनुसार प्रदेश मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा अझै पनि ५६ प्रतिशत कर्मचारी अपुग रहेको छ । एक हजार चार सयभन्दा बढी कर्मचारी प्रदेश मन्त्रालय र विषयगत कार्यालयहरूमा नआएको मुख्य सचिव विडारीले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ५२ जना कर्मचारी दरबन्दी रहेकोमा २१ जना कर्मचारी आएका छन् । दुई सचिवसहित ३१ जना कर्मचारी आउन बाँकी रहेको जनाइएको छ ।

यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमा ३२० कर्मचारीको दरबन्दी छ । हालसम्म १८३ कर्मचारी हाजिर भएका छन् । १३७ दरबन्दी रिक्त छ । सामाजिक विकास मन्त्रालय र मातहतका कार्यालयका लागि २०४ जना कर्मचारीको दरबन्दी रहेकोमा हालसम्म ७९ जना उपस्थित छन् । १२५ रिक्त रहेको जनाइएको छ । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV