११ मंसिर २०७५, मंगलवार

काठमाडौं, ११ मंसिर । नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर छ । स्वदेशमै उत्पादन हुने सिमेन्टले मुलुकको माग धान्न सक्ने भएका कारण आयातमा कमी आएको छ । अहिले वार्षिक १ करोड टन सिमेन्ट उत्पादन हुने गरेको छ भने ९० लाख टन माग रहेको छ । तर, कच्चापदार्थ आयात भने बढ्दो छ ।

चार दशक अघिमात्रै सरकारी लगानीमा हिमाल सिमेन्टले पहिलो उत्पादन थालेको थियो । अहिले ५४ सिमेन्ट उद्योग सञ्चालनमा छन् । वितेको दुईवर्ष अघिसम्म नेपालमा सिमोन्टको आयात बढ्दो थियो । तर, अहिले सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । आर्थिक बर्ष २०७४÷७५ मा ८५ लाख टन सिमेन्ट उत्पादन भएको थियो । जबकि गतबर्ष ९० लाख टन सिमेन्टको मात्रै माग थियो ।

प्रत्येक बर्ष मुलुकभित्र ठूला सिमेन्ट उद्योगको संख्या र उत्पादन क्षमतामा बढोत्तरी भएको छ । नेपाली सिमेन्ट उद्योगले अहिले बार्षिक १ करोड टन र दैनिक ३६ हजार टन सिमेन्ट उत्पादन गर्दैै आएका छन् । स्वदेशमा सिमेन्टको उत्पादनमा बृद्धि भई आत्मनिर्भरताको बाटोमा लागेपनि क्लिंकरको समस्या भने उस्तै छ । भन्सार विभागको तथ्यांक अनुसार गतबर्ष नेपालमा ३१ अर्ब २७ करोड ४२ लाख १३ हजार मूल्यका सिमेन्ट र क्लिङकर आयात भएको छ ।

नेपाली सिमेन्टको उत्पादन लागत बढि भएका कारण उद्योगले बाहिरी मुलुकमा निर्यात गर्न सकेका छैनन् । सरकारले क्लिङकर, कोइला लगायतका अन्य कच्चा पदार्थ आयातमा सहुलियत दिए सिमेन्ट निर्यात गर्न सकिने उद्योगी बताउँछन् ।

नेपालमा भारत, भूटान, चाइना, थाइल्याण्ड, क्यानाडा र पाकिस्तान लगायतका मुलुकबाट ५ प्रतिशतको हाराहारीमा सिमेन्ट आयात हुने गरेको छ । यसअघि बाहिरी मुलुकबाट ८५ प्रतिशतसम्म आयात हुँदै आएको थियो । अग्रिम रूपमा गरेको सम्झौता र दातृ निकायले निर्माण गर्ने ठूला आयोजनाका बाहेक यो वर्षबाट सिमेन्ट आयात पूर्णरूपमा बन्द भएको छ ।

 

LIVE TV