११ मंसिर २०७५, मंगलवार
  •  तारा आचार्य

विराटनगर । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले लैगिंक हिंसा विरुद्धको अभियानलाई सामाजिक आन्दोलन नबनाएसम्म अभियानले मूर्तरुप लिन नसक्ने बताउनु भएको छ ।

मंगलबार विराटनगरमा लैगिंक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले लैंगिक हिंसा गलत चिन्तनका कारण उब्जिएको समस्या भएकाले यसलाई आआफ्नो घर देखि नै सच्याउदै लैजानुपर्ने बताउनु भयो ।

उहाँले संविधान जारी भएपछि मुलुकमा राजनीतिक स्थिरता आईसकेकोले अब सामाजिक रुपान्तरणका लागि गलत चिन्तन र व्यवहारहरु परिवर्तन गर्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री पोखरेलले प्रशासनिक र वित्तीय क्षेत्रमा संघीयता लागू गर्न नसकिएका कारण मुलुकमा संघीयताले मूर्तरुप लिन नसकेको बताउदै संविधानतः बनाउनु पर्ने कानुनहरु छिटो बनाएर संघीयतालाई कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको धारणा व्यक्त गर्नुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा महिला तथा बालबालिका मन्त्री थममाया थापाले संविधान र कानुनी दृष्टिकोणले मुलुक समृद्ध भएपनि अझै महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनु भयो ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कुनै पनि हिंसा मुक्त बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको बताउदै लैंगिक हिंसा विरुद्ध शुन्य सहनशिलता लागू गरिएको जानकारी दिनुभयो ।

एक नम्बर प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख उपप्रमुखहरु सहभागि रहेको सो दुई दिने प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रममा लैंगिक हिंसा अन्त्यका लागि ठोस योजना बनाई स्थानीय तहबाट कार्यान्वयन गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV