१० मंसिर २०७५, सोमबार

काठमाडौं, १० मंसिर । ललितपुरको खोकना र बुङमतीका स्थानीयवासीले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न संसदीय समितिसँग माग गरेका छन ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा त्यहाँका जनप्रतिनिधिले मुआब्जालगायत स्थानीयको माग सम्बोधन नभएसम्म दू्रतमार्गको काम अगाडि नबढाउन निर्देशन दिन माग गरेका हुन् ।

खोकना र बुङमती नेवारी संस्कृतिको मूल थलो रहेको भन्दै उनीहरुले पूर्वसहमति कार्यान्वयन नगरी सरकारले पेलेर जान खोजको भन्दै ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अमृतराज शाक्य र ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रबीन्द्र महर्जनले आपत्ति जनाएका छन ।

खोकना र बुङमतिबासीले उचित मुआब्जा र स्थानीय सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षण हुने गरी मात्रै द्रुतमार्गको काम अगाडि बढाउन माग गर्दै आएका छन् ।

स्थलगत निरीक्षणसमेत गरेको संसदीय समितिले स्थानीयको मागबारे विस्तृत जानकारी दिएपछि सरकारलाई आवश्यक निर्देशन दिइने जनाएको छ । नेपाली सेनाले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माण गरिरहेको छ ।

LIVE TV