१० मंसिर २०७५, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्ने र पोलिटब्यूरो कमिटी गठन गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची रहेकाे थियाे  । आजको बैठक भोलिका लागि सारिएकाे छ, तर समय चाहिँ यकिन गरिएकाे छैन।

शनिबार (८ मंसीर) बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।  आइतबार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन टुंगो लगाउने भनिएको थियो ।

आजको बैठकले पोलिटब्युरो कमिटीको पनि टुंगो लगाउने बताइएको थियाे । नेकपाको पार्टी एकता भएको ६ महिना पूरा हुँदा पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अघि बढ्न सकेको छैन । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV