९ मंसिर २०७५, आईतवार

काठमाडौं । काठमाडौंको अधिकांश स्थानमा ट्राफिक लाइट छैन । भएको ठाउँमा पनि बिग्रेको छ । जसकारण ट्राफिक व्यवस्थापन गर्न हम्मे परेको छ । सवारी जाम बढेको छ । पैदालुयात्रुले पनि सास्ती ब्यहोरिरहेका छन् । तर, सडकमा ट्राफिक लाइट राख्न र भएको ट्राफिक लाइट मर्मत गर्न पनि सरोकारवालाले चासो देखाएका छैनन् ।

यो काठमाडौंको माइतीघरको ट्राफिक लाईट । अनि यो चाहिँ सिंहदरबारको मुख्य प्रवेशद्धारमै रहेको ट्राफिक लाइट । यो भन्नका लागि मात्रै ट्राफिक लाइट हो, तर यसले कुनै लाइट दिँदैन । अर्थात्, यी बत्ती बल्दैनन् । थापाथलीस्थित ट्राफिक बलिरहन्छ । त्यो पनि हरियो मात्रै । यो बत्ती मर्मतको धेरै प्रयास भयो । तर स्थिति उस्तै छ । यी त काठमाडौंका सडकका केही प्रतिनिधि ट्राफिक लाइट मात्रै हो । एकाध स्थानबाहेक सबैतिरको स्थिति उस्तै छ । ट्राफिक लाइटको अभावमा ट्राफिक प्रहरीलाई सडक सवारी व्यवस्थित गर्न निकै कठिन हुन्छ ।

सडक विभागले काठमाडौंका सडकमा आधुनिक ट्राफिक लाइट राख्ने बताएको वर्षौ भयो । तर, काठमाडौं महानगरपालिका र महानरीय ट्राफिक प्रहरीसँग कुरा नमिल्दा ट्राफिक लाइट राख्न र मर्मत गर्नै समस्या परेको बताउँछन्, सडक विभागका ट्राफिक यूनिट प्रमुख, दीप बिरही । यसअघिका सबै ट्राफिक लाइट जापान सरकारको सहयोगमा जडान भएको हो । पछिल्लो समय सडक विभागले काठमाडौं उपत्यकाका विभिन्न १२ स्थानमा ट्राफिक लाइट राख्न टेण्डर आह्वान गरेको छ ।

यसअघि एसियाली विकाश बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा उपत्यकामा इन्टलीजेन्ट ट्राफिक सिस्टम जडान गर्ने बताए पनि अनुमानित भन्दा बढी खर्र्च लाग्ने भएपछि टेण्डर प्रक्रिया नै खारेज भएको थियो । बैंकले तीन पटकसम्म टेण्डर आह्वान गरेको थियो । सरकारले सडक सुरक्षाका लागि गत वर्ष १९ करोड र यस वर्ष १६ करोड रुपैयाँ बिनियोजन गरेको छ । तर, सडकमा सडकबत्तीको स्थितिमा सुधार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV