९ मंसिर २०७५, आईतवार
  • तारा आचार्य

विराटनगर । अत्यन्त सुरक्षित र विश्वसनीय मानिएको ट्यांकर लकिङ प्रणाली लागू गरिएको ट्यांकरबाटै डिजल चोरी भएपछि नेपाल आयल निगमको अनुसन्धान टोलीले छानबिन शुरु गरेको छ । मंसिर ६ गते बरौनीबाट विराटनगर आएको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजल हराएपछि निगमले अनुसन्धान टोली विराटनगर पठाएको हो ।

 उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको तीन सदस्यीय अनुसन्धान टोलीले छानबिन गरिरहेको छ । बरौनीबाट आएको सो ट्यांकरमा डिजल घटेको थाहा पाउने बित्तिकै २४ घण्टे स्पष्टीकरण सोधेर ट्यांकर चालक, ढुवानीकर्तालाई विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले कारवाही गरेको छ । कारवाहीमा घटेको डिजलको दोब्बर जरिवाना, चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिना आयल निगम प्रवेश निषेध सहित निलम्बन र ढुवानीकर्ता सुखदेव सिंहको सबै ट्यांकरसंग ढुवानी सम्झौता रद्द गरिएको नेपाल आयल निगम विराटनगरका डिपो प्रमुख दिनेश यादवले जानकारी दिनुभयो । गत साउन १ गते देखि विराटनगरबाट चल्ने ३ सय ९७ वटा ट्यांकरमा लकिंग प्रणाली लगाइएको थियो ।

करिब २ लाख रुपैयाँ खर्च गरेर स्वयं ट्यांकर धनीले नै लगाएको सो लकिंग प्रणाली विश्वसनीय र भरपर्दो मानिन्छ । दुई वटा मात्र साँचो रहेको लकिंग प्रणालीमा ताल्चा नै नखोलेर डिजल चोरी भएको बताइएको छ । ताल्चा नखोली पेट्रोलियम पदार्थ चोरिएको तथ्य फेला परे ट्यांकर लकिंग प्रणाली नै असफल भएको मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV