९ मंसिर २०७५, आईतवार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा विधिको शासन, जनताको नैसर्गिक हक अधिकारको संरक्षण, भ्रष्टाचार मुक्त समाजको निर्माणका लागि सरकार निरन्तर लागिपरेको बताउनु भएको छ । उहाँले सबै जातजाति भाषा भाषीहरुबीच भाइचाराको सम्बन्ध बिकास गर्दै सुशासन र विकासबाट नेपाल सरकारको एकमात्र संकल्प समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न पनि सरकार निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो ।

 

आइतबार राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलका राष्ट्र सेवकहरुले त्याग, परिश्रम र बीरताको प्रदर्शन गर्दै संगठनलाई देशको महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गरेको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, सशस्त्र समुहहरुको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा तथा राजस्व चुहावट नियन्त्रण, विपद उद्वार, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, हुलदंगा व्यवस्थापन लगायतका नेपाल सरकारद्वारा प्रदान गरिएको कार्यादेशहरुमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भएको थियो ।

उहाँले तालिमको दीक्षान्त कवाजमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर क्षेत्रीलाई खुकुरी प्रदान गर्नु भएको थियो । सोही अवसरमा उहाँले सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक सन्दीप भट्टलाई समेत खुकुरी प्रदान गर्नु भएको थियो । गृहमन्त्री थापा ‘बादल’ले सो अवसरमा दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सदैव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपदमा उद्वार कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गर्दै प्रभावकारी ढंगले परिचालित भएर संगठनले परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताउनु भयो । सुरक्षाकर्मीहरुले सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाह गर्दै देश र जनताले सधैं गर्व गर्ने सच्चा सुरक्षाकर्मी बन्न सक्नुपर्ने चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आर्थिक विकास र समृद्धिका लागि सु–व्यवस्था र सुशासनयुक्त वातावरण निर्माण गर्ने नेपाल सरकार गृहमन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना तथा निर्देशनहरु परिपालना गर्दै शान्तिसुरक्षाका लागि अहोरात्र खटिईरहने प्रतिवद्धता व्यक्त गर्नुभयो


कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुलाई समयानुकुल र बैज्ञानिक ढंगले प्रशिक्षण प्रदान गरि योग्य अधिकृत निर्माणमा जोड दिइएको बताउनुहुँदै व्यावसायिक सिप, दक्षता र नेतृत्व क्षमता विकासमा यस्ता आधारभूत तालिमको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नु कठिन कार्य भएको स्मरण गर्नुहँुदै तालिम संचालनमा सहयोग र सहकार्यका लागि नेपाल सरकार गृहमन्त्रालय तथा अन्य विभिन्न निकायहरु प्रति आभार प्रकट गर्नुभयो । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा ३ जना महिलासहित कुल ५४ जना तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा १ जना महिलासहित कूल १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV