९ मंसिर २०७५, आईतवार

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् ।

विशेष परिस्थितिमा मात्र रकमान्तरमार्फत बजेट उपलब्ध गराउने प्रचलन भए पनि राष्ट्रपतिलाई गाडी खरिदका लागि १४ करोड ३२ लाख (१२ लाख ३४ हजार ४ सय ६८ अमेरिकी डलर) को प्रतीतपत्र खोल्ने बुधबार स्वीकृत दिइएको हो । नियमित बजेट चार करोडबाट राष्ट्रपतिको सुरक्षाका लागि पछुवा गाडी, बस र एम्बुलेन्स खरिद प्रक्रिया यसअघि नै अघि बढिसकेको छ ।

अन्नपूर्ण पाेष्टका अनुुसार, राष्ट्रप्रमुख चढ्ने हुनाले हाइल्यान्डर जिपलाई बुलेटप्रुफ बनाउँदा महँगो पर्न गएको सरकारी तर्क छ । थाई कम्पनीले बेच्ने ती गाडी क्यानडा लगेर बुलेटप्रुफ बनाइँदै छ । राष्ट्रपतिका लागि उपयोग हुने तीन वटा गाडीको मूल्य नै १२ करोड पर्नेछ ।

राष्ट्रपतिसँग तीन सेट गाडीबाहेक अनौपचारिक रूपमा उपयोग गर्ने गाडी पनि छन् । एक महिनाअघि मात्रै राष्ट्रपतिका लागि भन्दै ५५ लाख मूल्य बराबरको इलेक्ट्रिक भेहिकल (बिजुलीबाट चल्ने) गाडी पनि खरिद भएको छ । अन्य गाडीकाे अभाव नरहेकाे र ती गाडीहरु चालु हालतमै रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV