८ मंसिर २०७५, शनिबार

काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउन दलाल र कर्मचारीको मिलेमत्तोमा नक्कली भिषामा पनि श्रम अनुमति दिने गरेको भेटिएको छ । प्युठानका अर्जुन श्रेष्ठ, विष्णु खड्का, बिनोद श्रेष्ठ लगायत १० जनाले आनन्द खत्री नाम गरेका एजेन्टलाई जनही ४ लाख बुझाएर मोरिससको भिषा र नेपाल सरकारको श्रम अनुमति हात पारे ।

यही भिषा र श्रम अनुमति लिएर अक्टोबर २८ मा मोरिसस उड्न लाग्दा त्रिभुवन विमानस्थलको अध्यागमनले नक्कली भिषा भएको भन्दै उडान अनुमति दिएन ।

यही भिषा देखाएर श्रम कार्यालय ताहाचालबाट एजेन्टलाई २८ हजार पैसा बुझाएपछि सेप्टेम्बर ७ मा श्रम अनुमति पाएका थिए । उनिहरुलाई श्रम अनुमति दिँदा श्रम कार्यालयका कर्मचारीले अक्टोबर २८ पश्चात मात्रै अध्यागमनबाट प्रस्थान गर्ने छु भन्ने मञ्जुरी नामा गराएका छन् ।

अध्यागमनबाट प्रस्थान गर्नका लागि, जान लागेको मुलुकको भिषा अनिवार्य हुन्छ तर श्रम कार्यालयका कर्मचारीले यस्तो मञ्जुरी नामा गराउनुले उनीहरुलाई भिषा नक्कली भएको जानकारी थियो भन्ने पुष्टी हुन्छ ।

यो मञ्जुरी नामा गराउने कर्मचारी अहिले सरुवा भइसकेका छन् तर कार्यालयका निमित्त प्रमुख सुरेश जोशि यो बिषयमा केही नबोल्ने बताउँछन् । एजेन्टले दिएको नक्कली भिषामा नेपाल सरकारले सक्कली छाप लगाइदिएपछि ती युवाहरुको ४० लाख डुबेको छ । तर ओरिजिनल भिषा भएका करिब डेढ सय बढी सर्वसाधारण श्रम अनुमति नपाएर डेढ महिनदेखि कार्यालय धाइरहेका छन् ।

श्रम कार्यालयका कर्मचारी जान लागेको मुलुक स्थित नेपाली दुतावासको सिफारिस खोज्छन् भने दुतावासले सिफारिस दिन नपर्ने बताउँछ । वैदेशिक रोजागरी सम्बन्धी नेपाल सरकारको स्पष्ट नीति नहुनको मौका छोपेर कर्मचारी र एजेण्टको सेटिङका कारण सर्वसाधारण ठगीइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV