८ मंसिर २०७५, शनिबार
  • लक्ष्मी भण्डारी

वीरेन्द्रनगर, रासस । सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउनुहुन्छ । कहिले उनी भारत गएर कमाएर ल्याउनुहुन्छ । “साँझ बिहान दुःख गरेर काम गर्छांै तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्दछन् ।” वादी समुदायमा पुख्र्योली पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म आफूहरुमाथिको समाजको हेराई फरक भएको छैन्”, उहाँले भन्नुभयो ।

“हाम्रो जातमा पहिले केही व्यक्तिले यो पेशा गरे होलान् तर, अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “अन्य जातकाले यौन पेशा गरे पनि उनीहरु ढुक्कसँग हिँड्न सक्छन्, तर हामी पेशा नगरे पनि आरोप लगाइएको छ ।”

सुर्खेत गुर्भाकोट नगरपालिकाकी कविता वादी दिल्लीमा जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनले भारतको दिल्लीमा बिताउनुहुन्छ भने केही दिनमात्र घरमा आएर बस्नुहुन्छ । कारण हो, समुदायमा आफूहरुमाथि हुने गरेको विभेद । छ वर्षअघि माथिल्लो जातिसँग विवाह भएका कारण श्रीमान्बाट दिएको यातना सहन नसकेपछि उहाँको वैवाहिक सम्बन्ध अन्ततः डिभोर्समा परिणत भयो ।

अहिले उनी छोराका साथमा दिल्लीमा बस्दै आएको छ । “गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिड्न सक्दिन”, कविता भन्नुहुन्छ, “छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्दछन् । समाजमा अन्य जातिका व्यक्ति आफूहरुसँग घुलमिल हुन नचाहने गरेको दुःखेसो उहाँले पोख्नुभयो । “समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिँदैन, त्यसैले हाम्रा धेरै साथीहरु गाउँमा बस्न रुचाउँदैनन्”, उहाँले भन्नुभयो, “धेरै साथी दिल्लीमा बस्ने गर्दछन् ।”

सोही वादी बस्तीका ५६ वर्षीया बकुला वादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जिविका चलाउँदै आएका छन् । तर समाजले आफूहरुमाथि गरेको विभेद देख्दा उहाँको मन कुडिन्छ । “दिनभरि काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु”, उहाँ भन्नुहुन्छ, “हाम्रा छोरी चेलीमाथि अरु जातिले गर्ने व्यवहार फरक हुन्छ ।” फरक नजरले हेर्ने कारणले आफ्ना छोरी नातिनी भारततर्फ जाने रुचि गरेको उहाँ बताउनुहुन्छ ।

वादी महिलामाथि भएको विभेदका यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लामा बसोबास गर्दै आएका वादी समुदायका महिलाले भोगेको साझा समस्या हो, यो ।

विगतका दिनमा वादी समुदायका पुरुष मादल बनाउने र माछा मार्ने तथा छोरी यौन पेशालाई अपनाउने तर, अहिले परिस्थित बेग्लै भएको छ । उनीहरुले पुख्र्यौली पेशालाई छाडेर कृषि र व्यवसाय गर्दै आएका छन् ।

पहिलेको तुलनामा हाम्रो जातिमाथि गर्ने विभेदको केही कमी भए पनि अझै पनि आफूहरुप्रति हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती वादी बताउनुहुन्छ । वादी महिलाको पुख्र्यौली पेशा अहिले परिवर्तन भए तापनि पुरानै छाप अझै नहट्नु दुःखद् रहेको महिला अधिकारकर्मी किमशरा खत्री बताउनुहुन्छ ।

“पहिलेकोभन्दा अहिले अन्य जाति पनि उनीहरुसँग घुलमिल हुँदै आउन थालेका छन्”, उहाँ भन्नुहुन्छ, “विस्तारै यसमा पनि परिवर्तन हुँदै जान्छ ।” वादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरुलाई हेप्नु हो, शिक्षक सरुणी वलीको भनाइ छ । “यस्ता खालका व्यवहारले उनीहरुमाथि भएको विभेद झल्काउँछ”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा उनीहरुको मनोविज्ञानमा चोट पु¥याउँछ ।”

वादी अगुवा एवं सिम्ता गाउँपालिका वडा नं ६ का वडा सदस्य सुक्री वादीले वादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताउनुभयो । “जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन्”, उहाँले भन्नुभयो, “यसको अन्त्यका लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ ।”

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ । तर वादी महिलामाथि हुने यस्ताखालका विभेदले उनीहरुको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको देखिन्छ । वादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुका साथै उनीहरुमाथि जातीय विभेद भएको देखिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV