८ मंसिर २०७५, शनिबार

काठमाडौं। ‘धेरैले मलाई अलि कडा र फ्र्यांक्ली बोल्छ भन्छन्। हजुरहरू नरिसाउने हो भने म फ्र्यांक्ली बोलूँ माननीय ज्यू? ’ नेपाल वायु सेवा निगमका प्रबन्धनिर्देशक सुगतरत्न कंसाकारले सोधे। उनी संसदीय समितिमा वाइड बडी प्रकरणबारेको छलफलमा उपस्थित भएका थिए। ‘अहिले धेरै आएको शब्द हो, ट्रान्सपरेन्सी। म हजुरलाई सोध्छु यो पारदर्शिताको व्याख्या के हो ? मेरो सबै डकुमेन्ट असन बजारमा बाँडिदिने भन्या हो कि के हो ? ’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइड बडी प्रकरणबारे शुक्रबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएको थियो। पर्यटन, नागरिक तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित मन्त्रालयका सचिव र कंसाकार समितिमा पुगेका थिए। सांसदहरूले उठाएका प्रश्नमा कंसकार अमर्यादित शैलीमा प्रस्तुत भएका थिए। अर्बौं रुपैयाँ खर्च भएको विषयमा ठाडो जवाफ फर्काएपछि सांसदहरू उनीमाथि खनिएका थिए। अन्ततः कंसकारले माफी समेत माग्नुपर्‍यो।

‘एउटा पत्रिकाले वाइड बडीको लालपुर्जा छैन भनेर लेख्यो। हामी त्यो पढेर कोठाभित्र हाँसिरहेका थियौं। लालपुर्जा नभई उडान भर्नै दिँदैन’, समितिमा यो प्रकरणबारे प्रश्न उठेपछि कंसकारले भने। दुईवटा साप्ताहिक, एउटा दैनिक पत्रिका र एउटा टेलिभिजन निरन्तर निगमविरुद्ध लागेको उनको आरोप थियो। ‘यस्ता मिडियाका पछाडि नलाग्नुस्’, कंसकारले समितिका सदस्यलाई सल्लाह दिए, ‘अरु कसैले लेखेको छैन। लोकतन्त्रमा झुठो कुरा पनि लेख्न पाइन्छ। मलाई यस्ता कुरामा वास्ता छैन। हामी त्यस्ता समाचार पढेर हाँस्छौं।’

‘वाइड बडीको लालपुर्जा किन सार्वजनिक नगरेको ? ’ यो प्रश्न उठेपछि कंसकारले दुई पक्षबीचको खरिद सम्झौता अनुसार पत्र सार्वजनिक गर्न नमिल्ने जवाफ दिए। ‘पारदर्शिताको कुरा धेरै आएपछि मैले वकिलसँग पनि सल्लाह गरेँ’, उनले भने, ‘यो डकुमेन्ट असन बजारमा छरिदिन्छु भनेँ। उहाँहरूले मिल्दैन भन्नुभयो।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको व्यवस्थापन पक्षप्रति असन्तुष्टि जनाए। ल्याएको दुई महिनामै विमान ग्राउन्डेड हुनुपर्ने स्थिति दुर्भाग्यपूर्ण भएको उनले बताए। ‘खै तपार्इंहरूको बिजनेस प्लान ? ’ नेपालले प्रश्न गरे, ‘उडान अनुमति लिएको छैन, तर यता र उता उडान गर्छु भनेर प्रचारबाजी गर्ने ? ’ उनले भने, ‘सबैलाई मिलाएपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकता छ। यस्ता व्यक्तिलाई कडा कारवाही गर्र्नैपर्छ।’ याे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV