
- उत्तम पौडेल,
कास्की । गण्डकी प्रदेशमा मन्त्री तथा कर्मचारीको हेल्चेक्र्याईंको कमि छैन । संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहने प्रदेश सरकारमै देखिएको यो वेथितिले धेरै प्रश्न उठाइदिएको छ । सरकारलाई प्रभावकारी बनाउनुको सट्टा विशिष्ट कर्मचारी नै विभिन्न बहानामा प्रदेश राजधानी बाहिर रहेको भेटिएको छ ।
कर्मचारी स्थायी सरकार हुन् । यही मान्यता कर्मचारीतन्त्रमा रहन्छ । नीति नियम लागु गर्ने विशिष्ट अधिकारी नै कार्यालय आउँदैनन्– यसले संघीय संरचनाको कार्यान्वयन कसरी होला ? प्रश्न उठ्छ । यतिवेला धमाधम काम गर्र्दै संघीयतालाई प्रभावकारी बनाउनुपर्ने दायित्व प्रदेशका मन्त्री तथा सचिवको नै हो । तर, गण्डकी प्रदेशमा तीन वटा मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव बाहेक अन्य सचिव विभिन्न वहानामा प्रदेश राजधानी बाहिर छन् ।
विदेश भ्रमणः
- उद्योग, पर्यटन तथा वातावरण मन्त्री– विकास लम्साल– थाइल्याण्ड भ्रमणमा
- प्रमुख सचिव– लक्ष्मीराम पौडेल–चीन भ्रमणमा
- मन्त्रिपरिषद कार्यालयका सचिव–धर्मराज कुँइकेल–चीन भ्रमणमा
- पर्यटन मन्त्रालयका सचिव–विष्णु ढुंगाना–चीन भ्रमणमा
- भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव–शरदचन्द्र श्रेष्ठ– श्रीलंका भ्रमणमा
एक मन्त्री सहित तीन सचिवको विदेश भ्रमणबारे सरकारलाई जानकारी छ । तर, केही सचिव बारे सरकारका अधिकारीहरु केही बताउँदैनन् । उनीहरु निजि कामले राजधानी बाहिर रहेको बताइएको छ ।
प्रदेश राजधानी बाहिरः
- मुख्यमन्त्री– पृथ्वीसुब्बा गुरुङ– काठमाडौंमा
- मन्त्रिपरिषद्का सचिव– विष्णु ढकाल– पोखरा बाहिर
- सामाजिक विकास सचिव–कृष्णकुमारी न्यौपाने– निजि भ्रमणमा
यी राजधानी पोखरा बाहिर रहेका मन्त्री तथा सचिव हुन् । पोखरामै भएका मन्त्री पनि कार्यालयमा भेटिदैनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा शुक्रबार कार्यालयमै थिएनन् । प्रायः मन्त्री तथा सचिव सामान्य कार्यक्रममै समय व्यतित गर्न लालायित देखिन्छन् । अधिकांश सांसद पनि पोखरामा भेटिदैनन् । कानून बनाउने र विकासका कार्यक्रममा ध्यान दिनुपर्ने बेला मन्त्री तथा सांसद र कर्मचारीको उदासिनताले के प्रदेशको विकास र समृद्धि सम्भव होला ? आम जनता प्रश्न गर्छन ।