७ मंसिर २०७५, शुक्रबार
  •  देवराज पन्त

हेटौँडा, मंसिर ७ । प्रदेश ३ सरकारको भौतिक योजना मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश सरकारले यातायात पूर्वाधार निर्देशनालय स्थापना गरेको छ । निर्देशनालयको आज हेटौंडामा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् ।

प्रदेश सरकारले आफ्ना १३ वटै जिल्लामा सडक, यातायात जस्ता भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सो निर्देशनालयमार्फत कार्य गर्ने बताईएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले दिनरात नभनी कार्य गरेमा त्यसको उचित मूल्यांकन सरकारले गर्ने बताएका छन् ।

प्रदेश सरकारको कूल ३५ प्रतिशत बजेट भौतिक योजना मन्त्रालय अन्तर्गत रहेकोमा मन्त्रालयको सो बजेटको ४० प्रतिशत निर्देशनालय मातहत खर्च हुने बताईएको छ । निर्देशनालयमा प्रदेश सरकारले महेशचन्द्र न्यौपाने निर्देशक रहने गरी प्राविधिक, प्रशासनिक गरी २३ जना कर्मचारी दरबन्दी तोकेको छ ।

उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाल, मुख्यसचिव आनन्दराज ढकाल, ३ नम्बर प्रदेश प्रहरी प्रमुख दीपककुमार थापा, जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङ्ग, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम भौतिक योजना मन्त्रालयका सचिव कौशल किशोर झाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV