६ मंसिर २०७५, बिहीबार

भनिन्छ विद्यालय मन्दिर हो । मन्दिर भनेपछि भगवान, पूजा, आरधना, सत्कर्म हुनुपर्छ । विद्यालय, कलेजहरुमा विद्यार्थीहरुलाई अझ विशेष गरेर छात्राहरुलाई गरिने व्यवहारप्रति सबैलाई संवेदनशिल हुन आज विशेष विशेष अनुरोध गर्न चाहन्छु ।

शिक्षकहरु समाजका मार्गदर्शक हुन् । यसमा न विवाद छ न धेरै तर्क नै दिइरहन जरुरी छ । शिक्षण पेशाको मर्यादा मैले भन्न सकेभन्दा बढी छ । तर त्यसको आवरणमा केही यौन पिपासुहरु बहुतै सल्बलाउन थालेका छन् ।

जो राम्रा छन् तिनले चिन्ता लिनु परेन । ती सम्पूर्ण शिक्षकहरुलाई, गुरुहरुलाई मेरो सादर प्रणाम छ, ढोक छ । ती गुरु देवहरुप्रति हामी लक्षित छैनौं । असल शिक्षक हुनु र असल आचारण र चरित्र भएको शिक्षक हुनु दुई अलग कुरा हुन् । यो कार्यक्रम प्रस्तुत गर्ने दौरानामा विद्यार्थीहरुले भोगेका केही तीता अनुभवहरु सुनेको छु ।

अभिवावक विद्यालय व्यवस्थापन र विद्यार्थीहरुको लागि केही युजफुल जानकारी दिनु उपयुक्त ठानेको छु । शिक्षकले विद्यार्थीलाई सिकाउने बहानामा ढाडमा छुने, सुमसुमाउने गरेको घटनाको अनुभव मैले आँफु स्कुल पढ्दा गरेको छु ।

मेरो क्लासमा पढ्ने मेरा केही महिला सहपाठीलाई ढाडमा हात राखेर स्पेलिङ मिलेननी नानी, हिसाब मिलेननी नानी भनेर छोएको आफ्नै आँखाले देखेको छु । यो गलत हो । शिक्षक र विद्यार्थीबीचको पवित्र नातामा शंकाको रंग भर्न म कदापी चाहन्न । तर यो पवित्र सम्बन्धको आडमा आफ्नो क्रुर दृष्टी लगाउनेहरु प्रति सबैलाई खुलेर सजग गराउनु चाँही जरुरी छ ।

सबैलाई पढाउने शिक्षकलाई पनि कसैले पढाउनु प¥यो कि नजानिदो पाराले विद्यार्थीको शरीरमा छुने काम अब चल्दैन । कलिला छोरीहरु बुझ्दैनन् तर छिप्पीएका केही शिक्षकहरुले बुझ्नु जरुरी छ । समाजमा भैरहेका घटनाहरुले प्रष्ट सँग देखाएको छ कि देशका बालीकाहरु यौन पिपासुहरुको बक्र दृष्टीमा परिरहेका छन् ।

तिनलाई जोगाउन पनि केही निर्मम भएर बोल्नै पर्छ । बालबालिका मात्र होइन, सार्वजनिक स्थानमा महिलाहरु माथी हुने दुव्र्यवाहर पनि कम घिन लाग्दो छैन । सार्वजनिक यातायातमा ठेलमठेल यात्रुहरुको विचमा महिला दिदीबहिनीहरु कसरी यात्रा गर्ने ?

महिलाहरु त सायद प्रतिकार गर्न सक्नु हुन्छ तर स सना बालबालिकाहरुले कसरी प्रतिकार गरुन् । त्यसैले मलाई लाग्छ अब विद्यालयमा पनि चाइल्ड हेल्प लाइन जरुरी छ । शिक्षा मन्त्रालयको अनुगमन टोलीले स्कुल स्कुलमा गएर विद्यार्थीहरुलाई प्रश्न गर्न जरुरी छ ।

विद्यार्थीहरुलाई सोधौं के तिमीहरुलाई अप्ठ्यारो लाग्ने गरी कसैले छुन्छ ? शायद केही विद्यार्थीहले यसको जवाफमा आफ्नो अनुभव सुनाउन सक्छन् । म एउटा फिगर देखाउन चाहन्छु । बालबालिकाहरुको हकमा यो कुरा निकै महत्वपुर्ण हुन सक्छ ।

यो चित्र हेराँै । यसमा देखिएका ४ ठाँउ, मुख, छाती, दुई खुट्टाबीचको भाग र पछाडिको भाग । यी ठाँउ बालबालिकाका नितान्त व्यक्तिगत भागहरु हुन् । यी स्थानहरुमा छुने र हेर्ने छुट केवल आमालाई हुन्छ अथवा आमा बाबुले विश्वस गरेको र अनुमति दिएका स्याहार सुसार गर्ने व्यक्तिहरु अपवाद हुन सक्छन् ।

त्यसपछि उपचार वा चेकअप गर्ने डाक्टरलाई छुने सुविधा हुन्छ त्यो पनि बाबु अथवा आमाको उपस्थीतिमा । आमा बुवाले मायाले स्याहार्दा, अंकमाल गर्दा आपत्ती हुँदैन । तर त्यस बाहेक कसैले पनि यि ४ स्थानमा टच गर्छन भने त्यो गलत हो ।

अझ कोही मान्छेले गलत तस्वीर र भिडियो देखाए र यि ४ ठाँउमा छोए वा छुन खोजे भने त्यो सरासर गलत हो । यस्ता एजुकेशनल भिडियोहरु युट्युबमा टन्नै छन् । म अभिवावकहरुलाई यस बारे स साना बालबालिकाहरुलाई बुझाउन अनुरोध गर्दछु ।

गाँउ गाँउका विद्यालयमा पम्प्लेट र पोष्टर राखेर यसबारे चेतना फैलाउन सकिएन भने हाम्रा बालबालिकाहरु यौन दुराचारको शिकार हुन्छन् । म यो समाजका असल शिक्षकहरुलाई सम्मान गर्दछु तर शिक्षकको भेषमा देखिएका यौन दुराचारीहरुलाई चिन्न मद्धत गर्न समेत असल शिक्षकलाई नै कुनै अभियान संचालन गर्न समेत अनुरोध गर्दछु ।

मुखले विद्यालयलाई मन्दिर भनेर मात्र पुग्दैन । व्यवहारमा बालबालिकाहरु माथिको दुराचारको अन्त्य गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV