६ मंसिर २०७५, बिहीबार

मंसिर ६, लमजुङ । लमजुङको दोश्रो मुख्य व्यापारिक केन्द्र मानिन्छ, सुन्दरबजार । सुन्दरबजारकै मुटुमै रहेको छ, धार्मिक तथा ऐतिहासिक महत्वको ‘राम जानकी’ मन्दिर । सुन्दरबजार नगरपालिका–७, मेन बजारमै रहेको यस मन्दिरले धार्मिक पर्यटन विकासको उच्च सम्भावना बोकेको सरोकारवालाहरु बताउँछन् ।

आवश्यक पुर्वाधार निर्माण गर्न सके, प्रचारप्रसार हुन सके ‘राम जानकी’ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिबहादुर अधिकारी ‘माईला दाई’ बताउँछन् ।

‘रामजानकी मन्दिर धेरैको आस्था र विश्वासको धरोहर हो । बजारको बीच भागमा छ । आउन, जान पनि सजिलो छ । पुर्वाधार निर्माण गर्न सके, मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे प्रचारप्रसार गर्न सके यहाँ पर्यटक तान्न सकिने उच्च सम्भावना छ,’ उनले भने ।

मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफुहरुले सक्दो प्रयास गरिरहेको पनि उनले बताए । उनका अनुसार मन्दिर परिसरमै २५ फिट अग्लो हनुमान मूर्ति बनाईएको छ । कलात्मक गणेश मन्दिर बनाईएको छ ।

‘कालीगढ झिकाएर विशाल हनुमान मूर्ति बनाएका छौँ । अन्य देवी–देवताको मूर्ति पनि बनाएको छौँ । मानिसहरु मन्दिरसम्म आउने क्रम बढेको छ । यहाँसम्म आउनेहरु मन्दिरमा पूजा गर्नुका साथै फोटो खिच्न लालयित बन्छन्,’ उनले थपे ।

मौलिक धर्म रक्षाका साथै मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अघि बढाउन विभिन्न पर्व, अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिदैँ आईएको मन्दिर संरक्षण समितिका सचिव आनन्दराज खनियाँले बताए । उनका अनुसार स्थानीयले बिहानको समयमा मन्दिरमा पूजा–आजा गर्छन् । साँझबिहान भजन–किर्तनमा रमाउँछन् ।

‘मन्दिरमा धार्मिक प्रवचन तथा भजन–किर्तन भईरहन्छ,’ उनले भने । भजन–किर्तनका लागि मन्दिर आडैमा एउटा हल समेत निर्माण गरिएको छ ।

स्थानीय सरकारको साथ

धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण–संवद्र्धनमा स्थानीय सरकारको साथ रहने सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र बताउँछन् ।

‘धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा हाम्रा सबैको साझा सम्पत्ति हुन् । हाम्रा गौरव हुन् । यिनको संरक्षण–संवद्र्धन गर्नु आवश्यक छ । यी सम्पदाहरुलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यसैको माध्यमबाट पनि आर्थिक समृद्धि ल्याउन सकिन्छ । स्थानीयको जीवनस्तर उकास्न सकिन्छ,’ उनले थपे ।

उहाँका अनुसार राम जानकी मन्दिरका साथै कुन्छा गढी, तुर्लङकोट कालिका, अकला मन्दिर, तार्कुकोट–चण्डी मन्दिर र लक्ष्मीनारायण मन्दिर लगायतका थुप्रै धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको सम्पदाहरु सुन्दरबजार नगरपालिका भित्र रहेका छन् ।

राम सीता विवाह उत्सव हुने

राम जानकी मन्दिरमा राम सीता विवाह उत्सव हुने भएको छ । यही मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा मन्दिरमा रामसीता विवाह उत्सव हुने भएको हो । रामजानकी मन्दिर संरक्षण समितिको आयोजनामा विवाह उत्सव हुन लागेको हो ।

मौलिक हिन्दु धर्म परम्पराको जगेर्नाका साथै मन्दिरमा धार्मिक पर्यटन विकास गर्ने उद्धेश्यका साथ जिल्लामै पहिलो पटक सुन्दरबजारमा रामसीता विवाह उत्सव सञ्चालन गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष माईलाले जानकारी दिए ।

विवाह उत्सवको अघिल्लो दिन मंसिर २५ गते रामलक्ष्मण, सीताको प्रतिमा बनाई नगर परिक्रमा गरिने छ । रामजानकी मन्दिरलाई रामको घर बनाईने छ ।

सुन्दरबजार नगरपालिका–६, बरेटारमा रहेको शिवालय मन्दिरलाई सीताको घर बनाईनेछ । ‘रामजानकी मन्दिरबाट रामलाई बाजागाजासहित अन्माएर सीताको घर शिवालय मन्दिर लगिनेछ । उत्सवमा सहभागी सम्पूर्ण भक्तजनलाई भोजनको व्यवस्था समेत गरिएको छ,’ मन्दिर संरक्षण समितिका सचिव खनियाँले भने ।

उत्सवलाई सफल पार्न ५ सय १ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । विभिन्न उप–समिति बनाईएको छ । उत्सवमा झण्डै ७ लाख खर्च हुने आर्थिक उप–समितिका सदस्य आनन्दराज श्रेष्ठले जानकारी दिए । मन्दिरमा हुने धार्मिक कार्यक्रमहरुले मन्दिरको प्रचारप्रसार टेवा पुग्नुका साथै मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सघाउन पुग्ने सरोकारवालाहरु बताउँछन् ।

श्यामशितल परियार

प्रतिक्रिया दिनुहोस्
LIVE TV