६ मंसिर २०७५, बिहीबार

पेरिस (रासस/एएफपी) अफगानिस्तानका प्रधानमन्त्री (जसलाई प्रमुख कार्यकारी भनिन्छ) अब्दुल्लाहले अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरु शान्तिका लागि गम्भीर नरहेको बताएका छन् ।

अफगान सरकार प्रमुख अब्दुल्लाहले गएको करिब १७ वर्षदेखि युद्धरत तालिबान लडाकू समूह कुनै पनि शान्ति सम्झौताका लागि सहमत नरहेको र यसका लागि कुनै सङ्केत नदेखाएको बताए । अमेरिकाले केही महिनायता अफगानिस्तानका तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन निकै प्रयत्न गरिरहेको समाचार आइरहेका बेला अफगानिस्तानका सरकार प्रमुखको यो भनाइ आएको छ ।

तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन अमेरिका मात्र नभएर अफगानिस्तानको सरकारले पनि प्रयत्न गरेको तर उनीहरु भने गम्भीर नभएको प्रधानमन्त्री अब्दुल्लाहले बताएका हुन् । उनले यसै महिनाको शुरुमा तालिबानहरुसँग शान्ति वार्ता हुन सक्ने आशय व्यक्त गरेका थिए ।

त्यस्तै अफगास्तिानका लागि अमेरिकी विशेष दूतले पनि अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको अघि तालिबानसँगको वार्तामा प्रगति हुने जानकारी दिएका थिए ।

अफगानिस्तानमा आगामी अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको अघि नै शान्ति वार्ताका लागि राष्ट्रपति अस्रफ घानीले पनि प्रयास शुरु गर्नुभएको थियो । तर यता प्रधानमन्त्री घानीको यो आशयबाट यहाँका तालिबानहरु शान्ति वार्ताका लागि तयार नभएको देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा बुधबार समाचार एजेन्सी एएफपीलाई दिएको अन्तर्वार्तामा उनले पछिल्लाे समयमा तालिबानलाई शान्ति वार्तामा ल्याउन अफगानिस्तान सरकार, अमेरिका र अरु पनि विदेशी समुदायले प्रयास गरेको खुलासा गरे । सो अन्तरवार्तामा उनले भनेका छन्- ‘हामीले यो कुरा हतार गरेर भनेका छैनौँ तर पनि उनीहरुलाई अध्ययन गर्दा तालिबानहरुले कुनै पनि किसिमको शान्ति वार्तामा बस्ने इच्छा व्यक्त गरेको देखिएको छैन ।’

५५ को ज्यान

अफगानिस्तानको राजधानी काबुलमा दुई दिनमात्र अघि भएको आत्मघाती हमलामा परी कम्तीमा ५५ जनाको ज्यान गएको थियो । त्यसको एक दिनपछि प्रधानमन्त्रीका तर्फबाट यो अभिव्यक्ति आएको छ ।

इस्लाम धर्मगुरु प्र्रोफेट मोहम्मदको जन्म दिन मनाइरहेका बेला काबुलको एक पार्टी प्यालेसमा तालिबानहरुले हमला गरी यति धेरै नागरिकको ज्यान लिएका हुन् । त्यस नरसंहारको तालिबानले नै जिम्मेजवारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV