
डोटी। जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट धमाधम हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए ।
सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरुले यहाँका जिपमा जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका छाँै, नहटाउनेलाई कारवाही हुनेछ ।” गाउँका कच्ची सडकमा चल्ने यहाँका जिपहरुमा क्षमताभन्दा बढी यात्रु बोकिने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले जिपका पछाडि जोडिएका सिटहरु हटाउन थालेपछि यहाँका स्थानीयवासी पनि निकै खुशी भएका छन् । अब यहाँका जिप चालकले चालकसहित पाँच जना मात्रै यात्रु बोक्न पाउने नियम कायम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूखुशी यात्रु बोक्ने चलनको हामीले अन्त्य गरेका छाैँ, अब चालकसहित पाँच जनामात्रै जिपमा यात्रा गर्न पाउनेछन् ।” महेन्द्रा जिपका पछाडिपट्टी जडान गरिएका सिट हटाउने अभियान डोटीबाट शुरुआत गरिएको छ । रासस