४ मंसिर २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा निम्त्याइएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मी माझ चालु आर्थिक वर्षभित्र मूलभूत रुपमा सम्पन्न हुने गरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको अवगत गराउनु भएको हो ।

प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकीलाई पनि तीव्रता दिइएको जनाएको छ । एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाई हुन सक्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षमध्ये बाँकी रहेको २ वर्ष ३ महिनामा धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सबै सम्पदाको पुनर्निर्माण पनि सकिने दावी गरेको छ । स्थानीय तहलाई नै लाभग्राहीको गुनासो तत्काल सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि लागू भएपछि पुनर्निर्माणले तीब्रता लिएको उसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV