४ मंसिर २०७५, मंगलवार

काठमाडौँ । जर्मनीलाई बराबरीमा रोक्दै नेदरल्याण्डस युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बराबरीसँगै सात अंक बटुलेको नेदरल्याण्ड्स समूह बिजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीसँगको खेलमा लगभग घर फर्किसकेको टोलीले खेलको अन्तिम ५ मिनेटमा देखाएको शान्दार प्रदर्शन नै जितका लागि निर्णायक बन्यो । पहिलो हाफमा दुई गोल गर्दै जर्मनीले अग्रता लिएको थियो ।

उसका लागि तिमो वेर्नर र लिरोय सानेले गोल गरेका हुन् । वेर्नरले नवौँ तथा सानेले १९ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । तर, दोश्रो हाफको ८५ औं मिनेटमा डच टोलीले देखाएको प्रदर्शन निकै चमत्कारी थियो । क्विन्सी प्रोमसले गोल गर्दै खेलमा गोल दुरी घटाएका थिए । त्यसपछि ९० औं मिनेटमा भर्जिल भान डेकले गोल गर्दै खेलमा बराबरी गरे ।

यो बराबरीले नेदरल्याण्डस फ्रान्सलाई पछि पार्दै समूह विजेता बन्यो र पोर्चुगलमा आउँदो वर्ष हुने सेमिफाइनलमा पुग्यो । समान सात अंक भए पनि विश्व विजेता फ्रान्स भने गोल अन्तरमा पछि परेर अन्तिम चारमा स्थान बनाउन सकेन ।

LIVE TV