४ मंसिर २०७५, मंगलवार
  • दीपक उपाध्याय

धनगढी । निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संसकरणको उपाधिमाथि घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमाएको छ । आज भएको फाईनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो ।

पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उपविजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज भएको फाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल बनायो ।

लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिए । १४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेले । उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४/१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।

कार्तिक २७ गतेदेखि धनगढीमा सुरु भएको प्रतियोगितामा प्लेयर अफ द सिरिज नेपाली अन्डर १९ टोलीका सदस्य शेर मल्ल, बेष्ट ब्याट्सम्यान सिद्धार्थ शिसु सदनका खड्क बोहोरा, बेष्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका विशाल भट्ट भए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५/५ हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका निर्देशक डाक्टर माधव वराल लगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV