४ मंसिर २०७५, मंगलवार

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तीव्र्र रुपमा काम अगाडि बढाएको बताउनु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो ,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढाईसकेका छौं ।’

साक्षात्कारमा सीइओ जोशीले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पार्नुभयो । जोशीले भन्नुभयो,‘पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएका छौं ।’

भूकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्राउन सफल भएको उहाँको दाबी थियो । जोशीले भन्नुभयो,‘देशमा अहिले पूर्वाधार विकासको काम भैरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’

भैरहवा विमानस्थलको काम तीब्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने उहाँले जनाउनु भयो । जोशीले त्रिभुवन विमानस्थलको धावनमार्गको कामपनि धमाधम अगाडि बढेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने स्पष्ट पार्नुभयो ।
देशको विद्यमान परिस्थितिको बारेमा अन्तर्राष्ट्रिय समुदायमा राम्रो सूचनाको प्रवाह भएकाले लक्ष्यभन्दा माथि नै पर्यटकहरु नेपाल ल्याउन भिजिट नेपाल–२०२० ले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई थियो ।

विगतमा पर्यटन प्रवद्र्धनका लागि चलाईएका अभियानले अपेक्षाअनुसार पर्यटक भित्र्याउन सफल भएको निश्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक २० देखि २५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो । सन् २०१५ मा गएको भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयाशरत रहेको जोशीको भनाइ छ । सीइओ जोशीले विश्व विख्यात सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको पनि सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV