३ मंसिर २०७५, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । प्रत्येक बर्ष हरिबोधिनी एकादशीको दिनमा चाँगुनारायण मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्न दर्शनार्थीको घुईचो लाग्ने गर्दछ । मन्दिरमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका भक्तजन मेला भनेको घुइचो लागेको छ ।

सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको छ । भूकम्पले क्षति पुगेको मन्दिर पुनर्निर्माण भएसँगै मन्दिरमा लगाइएको टेको हटाइएको छ । हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजार्चना गरेर मनाइने प्रचलन छ ।यसैगरी चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा एकादशीको दिन ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको निर्णय गरेको नगरप्रमुख सोम मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV