३ मंसिर २०७५, सोमबार

काठमाडौँ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी)का एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्ससहितको टोलीले अाइतबार भेट गरेको छ ।

उक्त भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रका बारेमा जानकारी लिएको थियो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए । सो अवसरमा डीएफआईडी नेपालका प्रमुख डा रुरिड मार्सदेनसमेत सहभागी थिए ।

मुख्यमन्त्री पोखरेलले सम्भव भएसम्म चालु परियोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि बढ्न आग्रह गरे ।

डीएफआईडीले नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढङ्गले काम गर्ने डीएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताए ।

उनले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गरे ।

LIVE TV