२ मंसिर २०७५, आईतवार
  • रिया भण्डारी

काठमाडौँ । सूर्य नेपाल राज्यलाई सवैभन्दा बढी कर तिर्ने कम्पनी । तर, उसैले कानून विपरित चुरोट उत्पादन गर्दै आएको छ । कानून नै नमान्ने कम्पनीले कर बढी ति¥यो भनेर खुसी हुने कि, जनस्वास्थ्यमा निरन्तर खेलवाड गरिरहेको छ भनेर चिन्तित हुने ?

राष्ट्रिय कर दिवसको अवसरमा सूर्य नेपाल उत्कृष्ठ करदाताका रुपमा सम्मानित भयो शनिवार । तर, त्यही सूर्य नेपालले गैर–कानूनीरुपमा चुरोट उत्पादन र विक्रि गरिरहेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न सरकारले २०७२ जेठ १ देखि निर्देशिका ल्यायो । निर्देशिकाले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश अंकित चित्र हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, सूर्य नेपालले भने पहुँचका आधारमा कानून विपरीत ७५ प्रतिशत भागमा मात्रै चेतावनीमूलक सन्देश छापिरहेको छ । पटक–पटकको सूचना अटेरी गरेपछि स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूर्य नेपाललाई कारवाही गर्न उद्योग मन्त्रालयमार्फत पत्राचार गरेको छ । तर, कारवाही भएको छैन ।

यसरी ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा सूर्तीजन्य पदार्थको उपभोग गर्नेको संख्या घटेको अध्ययनले देखाएको छ । एक्सन नेपालले गरेको अध्यनअनुसार यस्तै चित्रका कारण दैनिक सरदर ११ वटा चुरोट उपभोग गर्ने व्यक्ति पाँच वटामा झरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सूर्तीजन्य पदार्थका कारण वार्षिक १५ हजारको अकालमा मृत्यु हुन्छ । जसको न्यूनीकरणका लागि विभिन्न कानून ल्याइए पनि कार्यान्वयन निकै फिलतो रहेको सूर्यकै प्रसंगले पनि स्पष्ट पार्छ ।

चेतनामूलक चित्रले चुरोटको प्रयोग घटाएपनि सबैभन्दा बढी खपत हुने सूर्य नेपालले भने निर्धारितभन्दा १५ प्रतिशत कम भागमा मात्रै सन्देशात्मक सामग्री छापिरहेको छ । तर, कानून बर्खिलाप गएको सूर्य नेपाल कारवाहीको भागिदार बनेको छ । सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सूर्य नेपाललाई कानून कार्यान्वयनमा पनि छुट दिइएको त होइन् ?

 

LIVE TV