२ मंसिर २०७५, आईतवार

काठमाडौँ।मुलुककै सबैभन्दा आकर्षक मानिन्छ माथिल्लो तामाकोशी आयोजना । स्वदेशी लगानीमा निर्माण गरिएको यो आयोजनाको प्रगति भने अपेक्षा गरिए अनुरुप छैन् । राष्ट्रको सम्बृद्धिसँग जोडिएको माथिल्लो तामाकोशी सम्पन्न गर्न अझैं एकबर्ष लाग्ने भएको छ । यसरी पटक पटक थपिएको म्यादकाका कारण आयोजना निर्माण अवधि मात्र लम्बिएको छैन, लागत पनि अनुमानभन्दा दोब्बर पुग्ने भएको छ ।

बहुचर्चित र बहुप्रतिक्षित आयोजना हो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी । यसलाई नेपालकै गौरब बढाउने आयोजना पनि भन्ने गरिन्छ । किनभने यो स्वदेशी पूँजी र प्राधिकिहरुले निर्माण गरेका हुन् । स्वदेशी लगानीमै बनिरहेको र मुलुककै सबैभन्दा आकर्षक मानिएको यो आयोजनालाई राष्ट्रको सम्बृद्धिसँग पनि जोडिएको छ । तर, विभिन्न कारणले आयोजना सम्पन्न हुने मिति पनि सारिदै गएको छ । एकपछि अर्को अवरोधका कारण आयोजना निर्माण अवधि मात्र लम्बिएको छैन, लागत पनि अनुमानभन्दा दोब्बर पुग्ने भएको छ । सुरुमा ३५ अर्बमा निर्माण सकिने भनिएको यो आयोजना आगामी बर्षको कात्तिकमा सम्पन्न गर्ने भन्दै एकबर्षको म्याद थप गरिएको छ ।

आगामी कात्तिकमा आयोजना निर्माण सम्पन्न हुँदा लागत ३४ अर्ब थपिएर ७० अर्ब पुग्ने निश्चित जस्तै भएको छ । भुकम्प, नाकाबन्दी, बन्द हडतालजस्ता कारण देखाउँदै तामाकोशीलाई सरकारले सेतो हात्ती बनाएको छ । असार ०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न गर्ने नयाँ लक्ष्य कात्तिक ०७६ मा सारिएको छ । आयोजना साढे ४ वर्ष ढिला हुँदा लागत दोब्बर करिब ७० अर्ब रुपैयाँ पुगेको छ । ०६७ मा आयोजना सुरु गर्दा लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । यसरी विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई ६५ अर्ब ७० करोड रुपैयाँ घाटा लागेको छ ।

आयोजना निर्माण शुरु गर्दाको अनुमानित लागत ३५ अर्ब २९ करोड
आयोजना ४ वर्ष ढिला हुँदा लागत दोब्बर करिब ७० अर्ब रुपैयाँ पुग्यो
अहिले विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसीलाई ६५ अर्ब ७० करोड रुपैयाँ घाटा
आयोजनामा हालसम्म ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी पुग्यो

भूकम्पले यसरी असर ग¥यो तामाकोशीलाई

२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले मुलुकलाई जसरी आक्रान्त बनायो त्यसरी नै तामाकोशीलाई पनि असर पु¥यायो । भूकम्पपछि अलि अलि तङ्ग्रिएको यो आयोजनालाई भारतिय नाकाबन्दीदले असर पु¥यायो । जसका कारण आयोजना निर्माण सम्पन्न गर्ने समायवधि ४ बर्ष पछि धकेलिन पुग्यो । आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणले भूकम्पको असर र ठेकेदार कम्पनीको गैरजिम्मेवारीलगायत कारण आयोजना अवधि कात्तिक ०७६ सम्म लम्बिएको दाबी गरेको छ । आयोजनामा हालसम्म ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी पुगेको छ भने यसमा झण्डै २० अर्ब रुपैयाँ ब्याज थप हुने अनुमान गरिएको छ ।

४ करोड दैनिक घाटा

माथिल्लो तामाकोशी जलविद्युत आयोजना मुलुकै सम्बृद्धि भनिएपनि सरकारी ढिलासुस्ती र लापरबाहीका कारण एकातिर आयोजनाको निर्माण समय बढि लागेको छ भने अर्कोतिर लागत पनि बढेको छ । आयोजना सम्पन्न हुँदा आयोजनाबाट वार्षिक २३ सय गिगावाट आवर विद्युत् उत्पादन हुन्छ । त्यो विद्युत् बेचेर करिब २ करोड ५५ लाख २० हजार रुपैयाँ दैनिक आम्दानी आयोजनालाई हुन्थ्यो । तर त्यो रकम प्राधिकरणलाई घाटा भइरहेको छ । त्यस्तै, ब्याजबापत मात्रै आयोजनाको सबै ऋण लिएको अवस्थामा १ करोड रुपैयाँ खर्च हुन्छ । औसतमा यस्तो खर्च दैनिक करिब ७५ लाखजति हुन आउँछ । त्यस्तै, आयोजना ढिलाइ हुँदा प्रशासनिक खर्च, दाबीलगायतको खर्च दैनिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्म हुने गरेको छ । यसरी दैनिक ४ करोड रुपैयाँभन्दा बढी घाटा आयोजनाले ब्यहोरीरहेको छ ।

ब्याजबापत मात्रै २० अर्ब रुपैयाँ खर्च

समयमा आयोजना निर्माण सम्पन्न नहुँदा ४ सय ५६ मेवगावाटको तामाकोशी आयोजनाले ब्याजबापत मात्रै २० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने छ । आयोजनाको खास लागत ४९ अर्ब २९ करोड हुने भए पनि ब्याज २० अर्ब तिर्नुपर्ने भएपछि लागत ६९ अर्ब २९ करोड पुग्ने आयोजनाको दावी छ । यो आयोजनाको कुल लागतको ४० प्रतिशत हो । संसारका कुनै पनि आयोजनामा ब्याज लागत १५ देखि २० प्रतिशतभन्दा बढी हुँदैन । आयोजनामा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले १२ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेका छन् । तर, ३–३ महिनामा यो ब्याज चक्रीय रुपमा साउँमा गणना हुने भएकाले दर १४ प्रतिशत पुग्ने प्राधिकरणको भनाई छ । अमेरिकी डलरको मूल्य बढ्दा र सुरुको लागत अनुमानमा ब्याज नजोडिएकोले पनि हाल आयोजनाको लागत दोब्बर पुगेको देखिएको हो ।

प्रतिमेगावाट १५ करोड ३५ लाख रुपैयाँ पुग्ने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई निकै आकर्षक अयोजना मानिएको थियो । तत्कालीन समयमा यो आयोजनाको लागत प्रतिमेगावाट झण्डै ८ करोड रुपैयाँ देखिएको थियो । जबकी अन्य आयोजनाको औषत लागत प्रतिमेगावाट १५ करोडभन्दा बढी देखिएको अवस्था थियो । तर, अबको लागत प्रतिमेगावाट १५ करोड ३५ लाख रुपैयाँ पुग्ने भएको छ ।

प्रसारणलाइन निर्माण पूरा गर्न अझै ५ महिना लाग्ने

प्रसारणलाइन निर्माण पूरा गर्न अझै ५ महिना लाग्ने आयोजनाले जनाएको छ । लट ४ अन्तर्गत गोगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभीको प्रशारण लाइन निर्माण गर्नुपर्नेमा हालसम्म २० किलोमिटर मात्र प्रसारणलाइनको काम पूरा भएको छ । भारतीय कम्पनी केईसी इन्टरनेशनलले प्रसारणलाइन निर्माणको काम गरिरहेको छ । हालसम्म प्रसारण लाइनअन्तर्गत १२७ वटा टावर निर्माण गर्नुपर्नेमा १२५ वटा टावरको फाउन्डेशनको काम सकिसकेको छ । ११५ वटा टावरको निर्माण सकिएको छ भने २० किलोमिटर मात्र तार टाँगेको छ ।

भारतीय ठेकेदार नै बाधक

आयोजनाको विभिन्न निर्माणको ठेक्का ४ वटा प्याकेजिङ गरी लगाइएको थियो । लट १ अन्तर्गत सभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । हालसम्म ९८ प्रतिशत पूरा गरेको छ । सिभिलतर्फको काम पूरा गर्न अझ एक÷दुई महिनामा लाग्ने श्रेष्ठले बताए । लट ३ अन्तर्गत पावर हाउस निर्माणको काम भारतीय एन्ड्रिज हाइड्रो प्रालिले गरिरहेको छ । ७६ मेगावाटका ६ युनिटमध्ये ५ युनिटका लागि पावर हाउस निर्माण गरिसकेको छ । निर्माणाधिन अर्को एउटा पावर हाउस एक महिनाभित्र बनिसक्ने आयोजनाको दावी छ ।

भारतीय ठेकेदार कम्पनी टेस्म्याको रेल्वे इन्जिनियरिङ कम्पनीले हाइड्रो मेकानिकल सामानको आपूर्ति र जडान कार्यमा ढिलाई गरेकोले आयोजना लम्बिएको आयोजना पक्षले बताउँदै आएको छ । सिनो हाइड्रोले सुरुमा सिभिलको जिम्मा १३ अर्ब ३७ करोड १८ लाख रुपैयाँमा जिम्मा लिएको थियो । तर, अहिले यसको लागत २१ अर्ब ६९ करोड पुग्ने देखिएको छ । यसको भुक्तानी ६५ प्रतिशत अमेरिकी डलर र ३५ प्रतिशत नेपाली रुपैयाँमा गर्ने सम्झौता छ । त्यसैगरी हाइड्रोमेकानिकल वक्र्सको जिम्मा लिएको टेक्सम्याका एण्ड इन्जिनियरिङसँग सुरुमा १ करोड ५ लाख ७४ हजार युरो र २९ करोड २१ लाख नेपाली रुपैयाँमा ठेक्का दिइएको थियो । अहिले यसको लागत बढेर कुल झण्डै साढे २ अर्ब रुपैयाँ पुग्दैछ । हाइड्रोमेकानिकलतर्फ ठेकेदारले सन्तोषजनक काम नगर्दा आयोजनाको निर्माण अवधि र लागत बढ्दै गएको आयोजनाका अधिकारीहरु दावी गर्छन् ।

डलरको भाउ पनि कारक

आयोजना निर्माणका लागि भएका सम्झौतामा केही भुक्तानी डलर र युरोमा गर्ने व्यवस्थाले पनि लागत बढाएको हो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आंकलन गरिएको थियो । तर, अहिले १०८ भन्दा माथि छ । जसका कारण आयोजनाको लागतमा दोब्बरले बृद्धि भएको हुन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV