मिथिलाञ्चलमा भैयादुज पर्व उल्लास र खुशीका साथ मनाइँदै



प्रकाशित मिति : Nov 09, 2018

गौशाला, २३ कात्तिक । आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् ।

आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् ।

उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् । दिदीबहिनीले “बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा” अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो पर्व मनाएका छन् ।

बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् । मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com