१ कार्तिक २०७५, बिहीबार

काठमाडौं, १ कात्तिक । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा नै कुनै पनि देशले खेलकुदमा गरेको लगानी मापन हुन्छ । पछिल्लो समय हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा लिँदै गर्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन ।

खेलकुदमा राज्यले हेर्ने दृष्टिकोण प्रभावकारी बन्न नसक्दा वषौंसम्म राष्ट्रका लागि योगदान दिएका खेलाडीहरु करिअरको उत्तरार्धतिर लागेपछि सोच्न थाल्छन्– खेलेर के पाइन्छ र ? अनि सुरु हुन्छ निराशा त्यसपछि पलायन । यसले वर्तमान पुस्तालाई असर गरेकै छ भविश्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ ।

पर्याप्त सुविधा र भविष्यको प्रत्याभूति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका छन् र यो क्रम तीब्र बन्दैछ । नेपालमै भइरहेकाहरु पनि सबैले शतप्रतिशत खेललाई दिन सकेका छैनन् । सबै खेलाडीहरु सन्दिप लामिटाने, पारस खड्का वा बिमल घर्तीमगर हुन सक्दैनन् । त्यसो भन्दैमा अन्य खेलाडीको क्षमता र राष्ट्रका लागि उनीहरुको योगदानको नजरअन्दाज गर्न मिल्दैन ।

तर, नियमनकारी निकायले अहिलेसम्म करिअरको उत्तरार्धमा रहेका खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरी र एपीएफ गरी तीन बिभागले धानेको नेपाली खेलकुदमा त्यस बाहिरका खेलाडीको अवस्था झनै दयनीय छ ।

हालै नेपाल प्रहरी क्लवकी एथ्लेटिक्स खेलाडी ओलम्पियन चन्द्रकला थापा जागीर छाडेर बैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । १८ वर्ष ७ महिना नेपाल प्रहरीमा रहेर फुटबल र एथ्लेटिक्समा सम्भव भएजति सबै सफलता हासिल गरेकी ३४ वर्षीय चन्द्रकला आफू पलायन हुने अवस्था आउँछ भनेर कहिल्यै लागेको थिएन । ओलम्पिकदेखि लिएर एशीयन गेम्स, दुई पटक विश्व च्याम्पियनसिप, एशीयन च्याम्पियनसिप र दक्षिण एशीयाली खेलकुद खेलेको अनुभव उनीसँग छ । तर, यी सबै अनुभवले उनको जीवनयापन सहज भएन् र जीवनभर एथ्लेटिक्समा लागिरहन पर्याप्त भएन ।

सुविधा र प्रोत्साहन दिए नेपाली खेलाडीहरुले मुलुकको नामका लागि पर्याप्त दिन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । तर वास्तविक धरातलमा उभिएर हेर्न हो भने अधिकांश खेलाडीहरु अहिले पनि हातमुख जोर्नका लागि नै संघर्ष गर्नुपर्ने पीडादायी अवस्थामा रहेको मोरङ उर्लाबारीकी चन्द्रकला थापाको अनुभव छ ।

किट महंगो छ, तयारी खर्च उत्तिकै छ । राष्ट्रिय टोलीमा रहेकाले मासिक ७ हजार भत्ता पाउँछन् जुन एक छेउ पनि पुग्दैन । अझ आफ्नो आम्दानी परिवार पाल्नुपर्ने अवस्थामा रहेकाहरुको स्थिति अझै दयनीय छ ।

चन्द्रकला प्रतिनिधि खेलाडी मात्र हुन् । खेलमा भविश्य नदेखेर पलायन हुनेको संख्या धेरै छ । खेलाडीलाई पलायन हुने बाटो रोज्न बाध्य पारिनुहुन्न । उनीहरुको भविष्य सुरक्षित हुनेदेखि लिएर सुविधाका बिभिन्न आयाममा सोच्न जरुरी छ । बिभागमा आबद्ध खेलाडीको हालत त यस्तो छ भने बिभागबाहिरका खेलाडीहरु अवस्था कस्तो होला ?

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV