१ कार्तिक २०७५, बिहीबार

काठमाडौं । शाहवंशका कूलका रुपमा रहको आलमदेवी मन्दिरमा मगरजातीका पूजारी रहने गरेका छन् । स्याङ्जाको हरिनास गाउँपालिकाको चिन्नेबासमा रहेको आलमदेवी मन्दिर धार्मिक मात्र होइन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । नेपाल राज्यको एकीकरणपछि शाहवंशीय तत्कालिन राजपरिवारले कूलदेवीका रुपमा पूजा गर्दै आएका छन् ।

आलमदेवीको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । दशैं सुरुभएसँगै यस मन्दिरमा भक्तजनको घुँइचो बढेको छ । प्रत्येक वर्षको दशैंमा शाहवंशीय राजपरिवार आलमदेवी पुग्ने गर्छन । तर, यसवर्ष पूर्वराजाका परिवार आएका छैनन् । यस मन्दिरमा मगर जातीका पुजारी रहने गरेका छन् । दशैं र चैते दशैंमा यहाँ रागा, बोका, भेडा, परेवा र कुखुराको बलि दिने चलन रहेको छ । स्याङ्जा, गुल्मी, पाल्पा, कास्की, रुपन्देही लगायत मुलुकका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् ।

पञ्चेवाजा र पञ्चवली सहितको पूजा, चैते दशैंमा हुने तरवार सहितको नाचले मन्दिरको आकर्षणलाई अझ बढाएको छ । दशैं तथा मेला बिशेषमा ५ जना सम्म पुजारी राखिने मन्दिरमा अरु वेला २ जना पुजारी रहने गरेका छन् । धार्मिक तथा पर्यटकीय महत्व बोकेको आलमदेवी मन्दिरको संरक्षणमा खासै ध्यान दिइएको छैन ।

पर्यटकीय आकर्षण समेत रहेको यस मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक देखिएको छ । यसले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने स्थानीयको सुझाव रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV