१ कार्तिक २०७५, बिहीबार

  • शुरबहादुर सिंह

सुर्खेत । गत शुक्रबार कर्णाली नदी किनारमा व्यवसाय गर्दै अाएका कर्णबहादुर रावत र उनकी श्रीमतीलाई चिया, चाउचाउ लगायतनास्ता खुवाउन भ्याइनभ्याइ थियो ।

खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए । दैलेखकाे आठबीस नगरपालिका–१ डावका यी दम्पती पर्यटककाे संख्या बढेकाेमा खुसी छन् ।

आजभोलि रावतकाे पसलमा मात्र नभर्इ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । एक महिनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई राम्रै मुनाफा भएको थियो ।

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो ।

शनिबार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गरेका थिए, जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढासमेत सवार थिए । उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ ।

कर्णाली र रेशमी मार्ग

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बङ्गलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताए । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उनको भनाइ थियो । उनले भने, “अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ । कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकासमा लाग्नुपर्छ ।”

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवद्र्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजङ्गल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विदेशीको भीड

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताए । “नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र सङ्घर्षशील जीवनका थुपै्र दृश्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ”, उनले भने, “अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।”

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ ।

गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरु गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विकले जानकारी दिए । “यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ”, वडाध्यक्ष विकले भने “यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।” कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उनको भनाइ छ । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछा-मासुको माग बढ्न थालेको छ ।

सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेकोमा दु:ख प्रकट गरे । “कर्णालीबाट ९५० मात्र होइन, चार हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ”, शाहीले भने, “न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।”

उत्कृष्ट जलयात्रा र कायकिङ

नेपालका भोटेकोशी, त्रिशूली, गण्डकी, भेरीलगायत नदीमा साहसिक जलयात्रा गरिँदै आएको छ । कर्णाली विश्वमा जलयात्रामा पाँचाैँ र कायकिङमा तेस्रो उत्कृष्ट नदीका रुपमा मानिन्छ । कर्णाली नदी जलयात्रामा मात्र सम्भाव्य नभई बहुआयामिक क्षेत्रको महत्व राख्दै आएको नेपाल नदी संरक्षण समितिका अध्यक्ष मेघ आले बताउँछन् ।

“विश्वकै उत्कृष्टमध्येकाे कर्णाली नदी सुरक्षित, सरल, प्राकृतिक आनन्द दिने र कम जोखिमयुक्त छ”, अध्यक्ष आले भन्छन्, “यसको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार अनवरत लाग्नुपर्छ ।” कर्णालीको प्रचारप्रसार व्यापक गर्न सके यसमा जलयात्रा गर्ने स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने उनको विश्वास छ ।

कैलाश-बुद्ध मार्ग

नेपालको सबैभन्दा लामो नदी कर्णालीले उत्तरमा भोटे, मध्य क्षेत्रमा खस, राउटे, क्षत्रीदेखि तराईका चौधरी, थारू समुदायसमेतको रहनसहन, वेशभूषा र धर्म-संस्कृति बोकेको छ । नेपाल नदी संरक्षण संस्थाले अध्यक्ष आलेसहित स्वयंसेवकका रुपमा काम गर्दै आउनुभएका भूगर्भविद् बेरेन केनेटको टोलीले मानसरोवर कैलाश र बुद्धभूमि लुम्बिनी जोड्ने विकासको नमूना आवश्यक रहेको औँल्याएको छ ।

Image result for Karnali River

सबै खालको हावापानी र मानव बस्ती समेटिएको विविधतायुक्त यो नदीबारे टोलीले भनेको छ, “कर्णाली नदी प्रदेश समृद्धिमा सहयोग पुर्याउने कर्णाली प्रदेशको मुख्य सम्पदा हो । यसको संरक्षण र बजारीकरण गर्न सरकारले विशिष्ट खालको योजना निर्माण गर्नुपर्छ ।”

पहिराको जोखिममा बस्ती

हिल्साबाट नेपालको हुम्ला हुँदै बगेर आउने कर्णालीसँग जोडिएको भिरालो जमीनमा मानव बस्ती छ । मूलतः तिब्बतदेखि कर्णालीको अध्ययन गर्दै आएका भूगर्भविद् बेनेटले कर्णालीका भिरालो जमिनमा रहेका बस्ती सबै जोखिममा रहेको बताएका छन् ।

“हिमालय पर्वतदेखि महाभारत शृङ्खलासम्मका बस्ती चलायमान छन्,” बेनेट भन्छन्, “अबको छ-सात दशकभित्र यी बस्ती कर्णाली नदीमा खस्ने प्रबल सम्भावना छ ।” त्यसबाट सजग रहन र पूर्वसावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उन भन्छन्, “कर्णाली प्राचीन नदी हो । यो नदी तिब्बतीय पठार हुँदै हिल्साबाट बगेर आएका सबै चीज महाभारत पर्वतमा थेग्रिएका छन् । बाटो खन्ने, जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माणलगायत विकासका काम गर्दा भूभागको अध्ययन आवश्यक छ ।”

हिमालय पर्वत बन्नुपूर्व नै कर्णाली बग्न शुरु गरेको अनुमान गरिएकाे छ । कर्णालीमा करीब १५० किलोमिटर जलयात्रा गर्न सकिने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV