३१ आश्विन २०७५, बुधबार

दसैं महिमा

अधिकांश नेपाली ठूलो महान् पर्व दसैँको आगमनसँगै उल्लास र उमंग बढेको छ । जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँको महोल दसैंमय भएको छ । न गर्मी, न जाडो । आकाशमा चंगा, धरतीमा रंगीन फूल । खेतमा लहलह धानबाली । पिङको रौनक उस्तै । सबैसबैको हँसिलो मुहार । वास्तवमै शरदको सुन्दर उपहार । साँच्चै दसैंले मानव मनका दुःख, दर्द, वैरभाव र शत्रुतालाई बढारेर आपसी मेलमिलापको भाव पैदा गराएको छ ।

रोजगारीका लागि देश, परदेश गएकाहरु जन्मघर फर्र्किएका छन् । आफन्तजनसँगको मिलनले आत्मीयता झनै सुमधुर बनेको छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर हो, दसैं ।

दसैंको आफ्नै बेग्लै धार्मिक, साँस्कृतिक, सामाजिक एवम् ऐतिहासिक महत्व छ । पौराणिक मान्यताअनुसार महिषासुर भन्ने राक्षसको बध गरी श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्डमुण्ड तथा शुम्भनिशुम्भलाई बध गरेको खुसियालीमा यस पर्वलाई मनाउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन जमरा राखी नवमीसम्म नवरात्र विधिअनुसार प्रत्येक दिन फरकफरक देवी तथा शक्तिहरुको पूजाअर्चना गरिन्छ ।

जमराले शितलता प्रदान गर्छ, भन्ने गरिन्छ । जमराको बेग्लै महत्व छ । जनस्वस्थ्यसँगै पर्यावरण र धार्मिक दृष्ट्रिले जमराको विशेष महत्व छ । दसैंको सातौं दिन हो, फूलपाती । यसदिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने गरिन्छ । शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश नष्ट हुने जनविश्वास छ ।

नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा गरिन्छ । धार्मिक मान्यताअनुसार दक्षप्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली भद्रकालीको यसदिन पूज गर्ने गरिएको हो । पूजापछि भद्रकालीलाई विभिविन्न जीवको बली दिने प्रचलन छ । नवरात्रिको नवौ दिन कलपूर्जा, हातहतियार तथा सवारीका साधनलाई बली दिई विश्वकर्माको पूर्जा हुन्छ । धर्मिक मान्यताअनुसार यस दिन कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मात्सर्यको प्रतीक कुखुरो र हाँसको बलि दिने चलन छ ।

दसैंको सबैभन्दा महत्वपूर्ण दिन हो, विजया दशमी । यसदिन मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्ने प्रचलन छ । रातो रङमा दहीले रंगाएको रातो र सेतो अक्षताको टीका लगाउने प्रचलन छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक भएकाले टीकाले मन, मस्तिष्क र विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने मान्यता छ । मान्यजन र आफन्तबाट टिका थाप्ने काम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक गरिमा बोकेको र शरद् ऋतुको सौन्दर्य झल्किएको बडादशैँ धार्मिक चाडमात्र नभई सांस्कृतिक एकता र राष्ट्रिय मेलमिलापको अवसर पनि हो । विविध जातजाति र धार्मावलम्बीले पनि दशैँसंग सांस्कृतिक सहकार्य गरेर मनाउने गर्छन् ।

धर्म, संस्कृतिभित्र विविधता भए पनि आखिर दशैँ हिन्दूका लागि मात्रै नभएर सिंगो नेपालीको सांस्कृतिक पर्व बनेको छ । तर, कतिपयले भने यसलाई स्वीकार्न सकेका छैनन् ।

 किन विवादित बन्दैछ दसैं ?

दसैंको आफ्नै बेग्लै धार्मिक, सामाजिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्व छ । तर पनि दसैं विवादरहित भने छैन । कतिपयले यसलाई हिन्दूको मात्रै पर्व भनेका छन् । र, हिन्दूले जबरजस्त अरु धर्मवालम्बीमाथि दसैं पर्व लागेको आवाज पनि उठेको छ । राज्यसत्ताकै तानाशाही सोच र व्यवहारका कारण दसैं विवदित बनेको तर्क छ, राजनीतिक सामाजिक विश्लेषक विश्वभक्त दुलाल आहुतिको ।

दसैं हिन्दूविशेषको धार्मिक पर्व भए पनि अरु धर्मवालम्बीमाथि लादिएको भन्ने तर्क स्वभाविक छ । बाहुनवादी सोचका कारण दसैंको ज्यादा प्रचार भएको तर जनजाति आदिवासीका पर्वलाई राज्यले उपेक्षा गरेको आवाज पनि उठेको छ । सामाजिक भन्दा धार्मिक पर्वका रुपमा व्यख्या गरिँदा दसैं विवाददित बन्नु स्वभाविक भएको विश्लेषण हुने गरेको छ ।

बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातियुक्त विविधतामूलक देशमा एकल भाषा, धर्म, भेष, भाषा जबरजस्त लाद्नुप्रति गैरहिन्दूको आवाज उठ्नु स्वभाविक मात्रै होइन, आवश्यक भन्ने तर्क पनि हुने गरेको छ । सद्भाव र भाइचरा भन्दा धर्मको कोणबाट दसैंको व्यख्या हुँदा जनजाति, आदिवासी र गैरहिन्दूले बहिष्कारसम्म गर्ने स्थिति बनेको छ । जुन दुखद हो ।

दसैंको महत्व, आवश्यकता, मान्ने शैली र व्याख्याबारे बहस हुनु स्वाभाविक हो । कुनै चाडपर्वलाई धार्मिक भन्दा बढी साँस्कृति र सामाजिक दृष्ट्रिले हेरिनु आवश्यक छ । सँगै धार्मिक, सामाजिक सहिष्णुताका लागि चाडपर्व सहयोगी हुनुपर्छ । चाडपर्वले आपसी सहिष्णुता बढाउन सकोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV