३१ आश्विन २०७५, बुधबार
  • सुमन कार्की,

पाल्पा, ३१ असोज । पाल्पामा नमूना उद्योगग्राम स्थापनाको प्रयासले मूर्तरुप लिन सकेको छैन । सरोकारवाला निकायले काम अघि नबढाउँदा उद्योगग्राम स्थापनाको प्रयास ओझेलमा परेको हो । सरकारले हरेक वर्ष बजेट निकासा गर्ने गरेको छ । तर, काम नहुँदा बजेट फ्रिज हुँदै आएको छ ।

तानसेन नगरपालिका र रमाथँगढी गाउँपालिकाको ३ सय ५० रोपनी जग्गा उद्योगग्रामका लागि सिफारिस भएको छ । सरकारले नमुना उद्योगग्रामका लागि वार्षिक बजेट विनियोजन समेत गर्दा पनि काम अघि बढ्न सकेको छैन । जिल्लाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत तथा घरेलु कार्यालयबीच पटक–पटक छलफल मात्र हुने गरेको छ । २०७३/७४ मा एक करोड रुपैयाँ निकासा भएको थियो भने २०७४/७५ मा ५० लाख बजेट विनियोजन भयो । घरेलु तथा साना उद्योगले खासै चासो नदिँदा बजेट फ्रिज मात्र भएन, उद्योगग्राम निर्माण नै अलपत्र बनेको छ ।

पाल्पामा लोपन्मुख अवस्थामा रहेको पाल्पाली करुवा, ढाका, कृषिऔजार, बाँस उद्योगलाई जोगाउन उद्योगग्रामको स्थापना गर्न लागिएको हो । नमुना औद्योगिकग्राम स्थापनको सिफारिस भएको जग्गाको फाईल भूमिसुधार मन्त्रालयमा पठाइएको छ । त्यो फाईल मन्त्रालयमा रोकिएकोले निर्माण कार्य अगाडि बढ्न नसकेको घरेलु तथा साना उद्योग कार्यालयको भनाई छ ।

पाल्पाको स्थानीय उत्पादन मुलुकभर नै चर्चित छ । तर, उद्योगको रुपमा विकास गर्दै व्यवस्थित बनाउने आशा सरकारी कार्यशैलीले अधुरै बनाउने हो कि भन्ने चिन्ता सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV