३१ आश्विन २०७५, बुधबार
  • अमर काफ्ले

सुनसरी । आज नौरथाको आठौं दिन अर्थात् महाअष्टमी । घटस्थापनासँगै विधिवत रुपमा सुरु भएको दशैं क्रमशः टिका जमरा सहितको आशीष थाप्ने विजया-दशमीको शुभसाइततर्फ लम्कँदो छ ।

हरेक वर्ष नेपाली समाज खासगरी हिन्दू धर्मावलम्बीले महत्वपूर्ण र महान चाडका रुपमा मनाउँदै आएको दशैं विगतको तुलनामा साँगुरिँदो छ । उन्माद र उमङ्ग विस्तारै घट्दो छ । मासु खाने र टीका थाप्ने काममा मात्र दशैं सीमित हुन थालेको छ ।

गाउँघरमा दशैं आएको झल्को दिलाउने ढोल बजाउने परिपाटी लगभग समाप्त नै भैसक्यो । घटस्थापनाका दिनदेखि हरेकका घर-आँगनमा पुगेर मरिक समुदायले बजाउने ढोलको प्रचलन एकादेशको कथा बन्न पुगेको छ ।

दशैं आउनुअगावै थालिने दशैंको तयारी र तारतम्य परिस्कृत भैसकेको छ । कमेरो माटोले घर लिपपोत गर्ने चलन यदाकदा मात्रै भेटिन्छ । बजारमा पाइने केमिकल युक्त रङले सजावटलाई आकर्षक तुल्याए पनि दशैंको मौलिकता भने गुम्दो अवस्थामा छ ।

दशैंको महत्वपूर्ण पक्ष मानिने लिङ्गे पिङ ठडिन छाडेको छ । रोटे पिङको त झनै कुरै नगरौं । बेफुर्सदिलो जमात सामाजिक सञ्जाल र पाश्चात्य संस्कृतिमा रम्दा नेपालीपन र नेपालीको मौलिक पहिचान बनेको पिङ लोप हुने अवस्थामा पुगेको छ ।

बैदेशिक रोजगारीले गाउँघर रित्तिए सरह छन् । युवा जमातको उपस्थिती अत्यन्तै न्यून छ । अाक्कल-झुक्कलबाहेक सामूहिकताको भावना हराएको छ । सबै आफ्नै तालमा मस्त अनि व्यस्त भेटिन्छन् ।

भनिन्छ- मुगलान पसेकाहरु समेत दशैं मनाउन घर फर्किन्छन् । पढाई या कामको शिलशिलामा घर बाहिर रहेकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । तर चाडबाड र विशेष परिस्थितिबाहेक अाक्कल-झुक्कल मात्रै घर फिर्ने जमातमध्ये निकै कम आफ्नो घर बसाइलाई अविस्मरणीय र उदाहरणीय बनाउनेतर्फ उद्दत भेटिन्छन् । अन्यथा व्यक्तिगत रमाइलो गर्दै दिन कटाउनु बाहेक सामाजिक उत्तरदायित्व वा दशैं परम्परा उन्मुख पाइँदैन ।

परिस्कृत बन्दो समाज र सूचना प्रविधिको विकाससँगै शुभकामना आदानप्रदान समेत मोबाइलमुखी बन्न पुगेको छ । फेसबुकका भित्ता कलरफुल बनाउने पोष्टले हरेकका गोजीमा दशैं भरिएको छ । प्रविधिले छिटो र छरितोपना दिलाए पनि कला, संस्कृति, मौलिकता अनि भाइचाराजस्ता कुरालाई सीमिततामा बाँधेर अपनाइने दशैं शैली पक्कै पनि पहिला र अहिलेको दशैंमा भिन्नतालाई दर्शाउन काफी छ ।

दशैं भन्नेबित्तिकै नयाँ लुगा लगाउने चाडका रुपमा समेत हेरिन्छ । राम्रो लगाउने अनि मीठो खाने चाडका रुपमा समेत दशैंलाई व्याख्या गर्ने गरिन्छ । तर आजभोलि नयाँ लुगा लगाउन दशैं नै पर्खनु पक्कै नपर्ला । अनि मीठो-मसिनो खान निमुखा, विपन्न र गरिब समुदायबाहेकको हकमा दशैंको दिन कुर्नु पनि नपर्ला ।

सबैले आफू पायक र जायजेथोले भ्याएसम्म राम्रै लाउँछन् अनि मीठो-मसिनो नै खान्छन् । फरक यत्ति हो– समुन्नत वर्ग र विपन्न समुदायको दशैं शैली फरक पर्ने मात्र हो । दशैंको असमान पक्ष सायद यहि एक मात्र हो । अन्यथा सबैका लागि दशैं अनि सबै नेपालीको साझा दशैं । जुन हरेक वर्षपिच्छे नेपालीका घर आँगनमा सुख र समृद्धिको अभिलाषासहित आउने गर्छ । जसलाई हरेकले आफ्नो गच्छेअनुसार मनाउने र दशैंको उमङ्गमा आफूलाई समाहित गराउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV