३० आश्विन २०७५, मंगलवार

काठमाडौं । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत नेपालका ईन्जिनियरहरुको संस्था ‘सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल’ (सोफेन)को नव निर्वाचित कार्य समितिलाई निवर्तमान कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ ।

खानेपानी तथा ढल निकास विभागको सभाहलमा आइतबार सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा सोफेनका नवनिर्वाचित अध्यक्ष ई डा. सञ्जीव विक्रम राणालाई निवर्तमान अध्यक्ष ई.रामदीप साहले अध्यक्षको जिम्मेवारीमा रहेका साधारण सभाको माइन्यूट, नवनिर्वाचित महासचिव अरुण कुमार सिम्खडालाई निवर्तमान महासचिव ई.किरण दर्नालले कार्य समितिको निर्णय पुस्तिका र नवनिर्वाचित कोषाध्यक्ष ई विनु बज्राचार्य कुँबरलाई निवर्तमान कोषाध्यक्ष ई.आरती श्रेष्ठले कोषसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

यही असोज १९ गते राजधानीमा भएको सोफेनको वार्षिक साधारण सभाले ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हाे । जसअनुसार अध्यक्षमा ई. डा. सञ्जीवविक्रम राणा, उपाध्यक्षमा ई. रामचन्द साह, महासचिवमा ई. अरुणकुमार सिंखडा, उपमहासचिवमा डा. डोलेन्द्रप्रसाद चापागाई, कोषाध्यक्षमा डा. बिनु बज्राचार्य कुँवर निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सदस्यहरुमा ई. कविन्द्र पुडासैनी, ई.राममणि शर्मा, ई.महेश न्यौपाने, ई. पूर्णप्रसाद उपाध्यय, ई. ईश्वरमान अमात्य र ई. रमाकान्त दुवाडी निर्वाचित हुनुभएको थियो ।

पद हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष ई. रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा थुप्रै काम गर्ने सम्भावना भएकोले नवनिर्वाचित कार्यसमितिले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो नेतृत्वमा रहेको कार्य समितिले केही क्षेत्र खास गरि वातावरण, जलवायु परिवर्तन, गुणस्तरीय खानेपानी आपूर्ति र मानव मल मूत्र व्यवस्थापनका क्षेत्रमा केही नयाँ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ई. डा. सञ्जीवविक्रम राणाले सोफेनको इतिहासमा आठौं कार्य समितिले उल्लेखनीय काम गरेको र आफ्नो नेतृत्वमा आएको नवौं कार्य समितिले पनि सोही पदचाप पछ्याउने बताउनुभयो ।

कार्यक्रममा नवानिर्वाचित महासचिव ई. अरुणकुमार सिम्खडाले सोफेनले वरिष्ठ इन्जिनियरहरुको साथ पाउदै आएकोले सदस्यहरुले निर्वाचनमा विश्वासका साथ दिनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सचिव ई.सुमन शर्माले आठौं कार्य समितिले स्मार्ट वाटर, फिकल स्लज, इन्भायरोमेण्ट र क्लाईमेट चेञ्जका क्षेत्रमा उल्लेखनीय कामको थालनी गरेकोले त्यसको प्रभाव र असरका बारेमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यभार हस्तान्तरण कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष एवम् एआईटी एल्मुनाई एशोसिएसन नेपालका अध्यक्ष ई. किशोर शाक्यले सोफेनले आठौं कार्य समितिको कार्यकालमा खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्टिय सम्मेलन सफलतापूर्वक आयोजना गरेर यसको गरिमालाई अभिवृद्धि गरको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV