२८ आश्विन २०७५, आईतवार

गोरखा । गोरखामा सहकारी मोडेलको किसान बजार तथा हाटबजार सुरु भएको छ । स्थानीयस्तरमा उत्पादित सुन्तला, कागती लगायतका फलफूल तथा तरकारी, अन्न, कोसेबाली, मसलाबालीका साथै पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यसाथ सुरु गरिएको हो ।

सुरु भएकै दिन साना तथा व्यवसायिक किसानहरुबाट उत्पादित कृषि तथा पशु उपज ५ लाखभन्दा बढीको कारोबार भएको सो बजार हालका लागि हरेक शनिबार लाग्ने र भविष्यमा स्थानीय बजार केन्द्रको रुपमा विकास गरी दैनिक सञ्चालनमा ल्याउने तयारी रहेको बजार सञ्चालक समितिका अध्यक्ष होमनाथ रिमालले जनाउनुभयो ।

सो बजारमा केरा, विभिन्न तरकारी, अमिलो जातका फलफूल, विरुवा, मसलाबाली र दलहन, खसीबोका लगायत १४ प्रकारका कृषि एवं पशुजन्य उत्पादन र ३८ वटा किसान स्टल राखिएको छ । शहिद लखन गाउंपालिकाको साविक मनकामना गाविसको फेदी, तनहुं जिल्लाको आंबुखैरेनी बजारको १० मिनेट पैदल दुरीमा दरौंदी नदीको किनारमा गोरखा र तनहुंको स्थानीय उत्पादनलाई बजारीकरण गर्न रामशाहघाटबाट यो किसान बजारको सुरु गरिएको हो ।    

दशैंको मुखमा बजार मूल्य सन्तुलन र नियन्त्रणका लागि सहकारी प्रणालीमा आधारित यो बजार उपयोगी हुने अधिकांश बक्ताहरुको भनाई थियो । गोरखा जिल्लामा रहेका ४ वटा कृषि सहकारी र एउटा महिला सहकारी एवं अन्य ४ वटा कृषि समूहको अगुवाईमा यो बजार सुरु गरिएको बताईएको छ । शहिद लखन गाउंपालिका तथा सहमति र लुथरन वल्र्ड रिलिफको साझेदारीमा सञ्चालित अमिलो जातका फलफूलहरुको बजार विकास परियोजनाको समन्वयमा कृषी सहकारीहरु वीच गाउंपालिका स्तरीय सञ्चालक समिति बनाई अघि बढिएको शहिद लखन गाउंपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले बताए ।

उद्घाटन समारोहमा आफनो मन्तव्य राख्दै गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले आगामी ४ वर्षभित्र गण्डकी प्रदेशका ७५९ वटै वडामा कृषि पशु उपज संकलन केन्द्र तथा कुल ८५ वटा स्थानीय तहमा कम्तीमा १ वटा कृषिपशु बजार केन्द्रको स्थापना गर्ने प्रदेश सरकारले सोच राखिरहेका बेला देश संघिय संचरनामा गएपछि प्रदेशमै पहिलोपटक शहिद लखन गाउंपालिका अन्तर्गत् यस्तो बजारको सुरुआत् गरिनु प्रशंसनीय रहेको बताए । स्थानीय सहकारी र किसानहरुको यो प्रयासलाई प्रदेश सरकारको संधै सहयोग रहने बताउनुहंदै कृषि मन्त्री रानाले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाए मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने भएकोले सबै मिलेर यसमै लाग्न आग्रह गरे ।
उत्पादक र उपभोक्ताबीचको दुरी कम गरी बजारलाई विचौलियाहरुको नियन्त्रणमा जाननदिन यस्ताखालका प्रयासहरुलाई बजेट नै व्यवस्था गरेर गाउंपालिकाले संधै सहयोग गर्ने शहिदलखन गा.पा.का अध्यक्ष रमेश थापाले बताउनुभयो । किसानहरुलाई आफ्नो उत्पादन बढाई व्यवसायिकतामा लाग्न तथा कृषिमा आधुनिकीकरणका लागि ढुक्कसंग अगाडी बढन आग्रह गर्दै अध्यक्ष थापाले कृषकहरुको उत्पादनलाई बजारसंग जोड्न कषि तथा पशु शाखामार्फत् आवश्यक कदम चालिने जानकारी दिए ।

कृषि क्षेत्रलाई सम्मानित बनाउन र बजार व्यवस्था गर्न आफूहरुले सक्दो सहयोग गर्ने शहिद लखन गाउंपालिकाका उपाध्यक्ष ईन्दिरा तिवारीले बताउनुभयो । यसैगरी गोरखा जिल्लाको मनकामना क्षेत्र विशेष गरी सुन्तलाबाटै प्रसिद्धी कमाएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् सुन्तला जात फलफूल जोन कार्यक्रमसमेत सुरुभएको हुंदा गोरखा जिल्लालाई सुन्तलाबाटै चिनाईराख्न उत्पादन उत्पादकत्व र बजारीकरणका लागि किसानहरुसंगै मिलेर काम गर्ने सुन्तला जोन कार्यक्रमका प्रमुख उदय अधिकारीले बताए ।

समारोहमा किसानहरुलाई उत्पादन बृद्धिमा लाग्न आग्रह गर्दै सहकारी प्रणालीमा आधारित बजार व्यवस्थापनको प्रवद्र्धन र संस्थागत विकासको लागि सबै एकजुट हुनुपर्ने सहमति संस्थाका पूर्व अध्यक्ष एवं कार्यक्रम सल्लाहकार करुणासागर सुवेदी, गोरखा कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गाप्रसाद पण्डित, शहिद लखन गा.पा.का प्रमुख प्रशासकीय अधिकृत जीवन आलेसहित उद्योग वाणिज्य संघ आंबूखैरेनीका अध्यक्ष, सम्बन्धित वडाका बडाध्यक्षहरु लगायतको भनाई थियो भने उद्घाटन कार्यक्रम होमनाथ रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV