२८ आश्विन २०७५, आईतवार

काठमडौँ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश गएकाहरु दसैं मान्न स्वदेश फर्कने क्रम जारी छ । त्यस्तै, विभिन्न सन्दर्भमा राजधानीमा बसेकाहरु पनि आफ्नो थातथलो फर्किरहेका छन् । राजधानी क्रमशः सुनसान हुँदैछ भने गाउँमा दसैंको चहलपहल बढेको छ ।

मानौं, दसैं सहरबाट गाउँ जाँदैछ । तर, सहरबाट गाउँ जानेको संख्या पोहोर–परारको भन्दा कम भएको छ । यसअघिका दसैंको यो समयमा बसपार्क र राजधानी बाहिरिने नाकामा यात्रु र सवारी साधनको घुँइचो अलि बाक्लो हुन्थ्यो । तर, यसपलि अलि कम छ । तै पनि बसपार्क पुगेर घर जान गाडीको टिकट नपाउने पीडा उस्तै छ । टिकट पाएर घर जान लागेकामा दसैंको बेग्लै उत्साह छ ।

दसैंमा काठमाडौं उपत्यकाबाट करिब २० लाख व्यक्ति बाहिरिए । तर, सरकारसँग वा अन्य सरोकारवालासँग यसको ठ्याक्कै तथ्यांक छैन । यसअघि जस्तै यस पटक पनि २० लाखकै हाराहारीमा राजधानी बसेकोहरु गाउँ फर्कने अनुमान छ । र, पछिल्लो दुई दिनमा दैनिक ८० हजारले राजधानी छाडेको अनुमान छ । तर, बसपार्कमा नबढेको चापले यसपाली दसैंमा राजधानी छाड्नेको संख्या कम हुने अनुमान गर्न कठिन छैन । सरकारले सार्वजनिक विदा घटाउनु, बाहिरकाको काठमाडौंमै घरजम बढ्नु र दसैंकै मौकामा बा–आमालाई काठमाडौं निम्त्याइनुले पनि गाउँ फर्किनेको संख्या घटेको अनुमान छ ।

राजधानी बसेकाहरु दसैं मान्न गाउँ जान लाग्दा जति खुसी छन्, त्यो भन्दा बढी वैदेशिक रोजगारीमा गएकालाई स्वदेश फर्कदा छ । दुई÷तीन वर्षअघि रोजगारी वा अध्ययनका लागि विदेश गएकाहरु यस वर्ष दसैं मान्न घर आएका छन् । उनीहरुलाई स्वागत गर्न परिवार र आफन्त विमानस्थलमै पुगेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसैं मान्न स्वदेश फर्किएका र स्वागत गर्न बसेका आफन्तको खुसी अवर्णनीय छ ।

दसैं आपसी मेलमिलाप, सद्भाव र सौहार्दताको पर्व हो । दसैंका विविध आयाममध्ये यो एक महत्वपूर्ण सामाजिक विषय हो । वर्षौदेखि टाढिएका आफन्त, परिवारका सदस्य र साथी–भाइबीच पुनर्मिलनका लागि दसैं उपयुक्त अवसर पनि हो । अझः अध्ययन, रोजगारी वा विभिन्न सिलसिलामा गाउँभन्दा टाढाको सहर वा विदेश गएकाहरु दसैं मान्न गाउँ वा स्वदेश फर्कदाँ परिवार र समाजमा खुसी, आत्मीयता र सद्भावको सञ्चार हुन्छ । दसैं मान्न मूलघर जाँदै हुनुहुन्छ वा स्वदेश फर्किदै हुनुहुन्छ भने तपाइको यात्रा सुखद् र स्मरणीय बनोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV