२८ आश्विन २०७५, आईतवार

काठमाडौं । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङजाको संयुक्त आयोजनामा नेपालमा पहिलोपटक प्याराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै ईण्डोनेसियामा सम्पन्न १८ औं एशियन खेलकुदमा नेपालका लागि एक मात्र रजत पदक दिलाउन सफल खेल प्याराग्लाइडिङको पहिलोपटक ‘प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ हुन लागेको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्जाकाे स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १९ गते सम्म चल्नेछ । उक्त मैदान प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गरिएको संघले जनाएको छ । यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको प्रतिष्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

टिम प्रतिष्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिष्पर्धा गर्नु पर्नेछ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुनेछ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमिको हुने आयोजकले जनाएका छन् ।

नेपालले क्रस कन्ट्रीमा आफूलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औं एशियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडि पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ प्याराग्लाइडिङ प्रि–विश्वकपमा नेपालका विशाल थापाले नेपालका लागि कास्यपदक दिलाउन सफल भएका थिए । यसका साथै ईण्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भइसकेको संघले जनाएको छ ।

जिल्ला समन्वय समित, स्याङ्गजा, जिल्लाको स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिम तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।

प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने संयोजक शैलेन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV