२८ आश्विन २०७५, आईतवार
  • अमर काफ्ले

इनरुवा ।  विगत ७ वर्षदेखि दशैंमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको इनरुवा इभेन्ट म्यानेजमेन्टले यस वर्ष मङ्गोलियन हर्टलाई स्टेजमा उतार्ने भएको छ ।

नेपाली सांगीतिक क्षेत्रको ख्यातिप्राप्त व्याण्ड मङ्गोलियन हर्टको इनरुवामा प्रस्तुति पहिलो हो । मङ्गोलियन हर्ट यतिबेला आफ्नो २५ औं वर्ष मनाइरहेको छ । सो क्रममा नेपाल टुरमा निस्किएको राजु लामासहितको टोलीले सांगीतिक कार्यक्रम आयोजना गर्ने स्थानको सूचीमा इनरुवा समेत परेको हो । २५औं वर्षगाँठ मनाइरहँदा व्याण्डले आफ्नो प्रस्तुति दिँदा लाग्ने शुल्कमा छुट दिएको छ ।

व्याण्डको ब्यस्त सूची र अधिकांशजसो समय बिदेशको प्रस्तुतिका कारण महँगो मोलमा समेत यदाकदा बाहेक मङ्गोलियन हर्टलाई कार्यक्रममा सहभागी गराउन हम्मेहम्मे पर्ने गर्छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले भने मङ्गोलियन हर्टको २५औं वर्षगाँठको अवसरमा व्याण्डलाई इनरुवामा उभ्याएर जसोतसो सांगीतिक साँझ आयोजना गर्न लागेको छ । असोज ३० गते फूलपातीका दिन साँझ महेन्द्रचोकमा आयोजना हुने मेघा रिदम इभ २०१८को तयारी पूरा भएको छ । कार्यक्रम संयोजक राकेश निरौलाका अनुसार सुन्दर साउण्ड सिस्टम धरानसँग कार्यक्रमका लागि साउण्ड सिस्टमको सम्झौता भएको छ ।

अर्ना बियर प्रायोजक रहेको सांगीतिक कार्यक्रममा यस पटक भने दर्शककालागि टिकट अनिवार्य गरिएको छ । कार्यक्रम म्यानेजमेन्ट गर्न समस्या भएपछि १ सय २५ रुपैंयाँ दरको टिकटको व्यवस्था गरिएको निरौलाले बताए । कार्यक्रममा इनरुवाको चिनारी सहितको डिजिटल डिसप्ले बोर्ड राखिनुका साथै विभिन्न विधाका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान समेत गरिने आयोजक संस्थाका सचिव पिताम्बर ढुङगानाले जानकारी दिए ।

इनरुवा इभेन्ट म्यानेजमेन्टले महेन्द्रचोक केन्द्रित रहेर २०६९ सालदेखि निरन्तर रुपमा दशैंको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । म्यानेजमेन्टले इनरुवामा दीपक बज्राचार्य, रेखा साह, mt 8848 ,सञ्जय श्रेष्ठ, रविन एण्ड द न्यू रिभोलुसन, मनोज गजुरेल, नविन के. भट्टराई सहित कुटुम्ब व्याण्डको उपस्थितिमा दशैं सांगीतिक कार्यक्रम अयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV