२८ आश्विन २०७५, आईतवार
  • राजु पौडेल

झापा, असोज २८ । झापाको एक अस्पतालबाट निस्किने फोहोर सही ढंगले व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । दमक—२ स्थित आम्दा अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित बन्न थालेको हो । जसका कारण स्थानीयबासीले आफुहरुको स्वास्थ्यमा असर गरेको गुनासो गरेका छन् ।

दमक—२ मा रहेको आम्दा अस्पतालबाट निस्कने सिरिन्ज लगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोरको उचित व्यवस्थापन नहुदा वातावरण प्रदुषण हुने गरेको छ । अस्पतालको फोहोर थुपार्ने, गाड्ने र जलाउने स्थान बस्ती नजिक भएकाले स्थानीयको स्वास्थ्यमा गम्भिर असर पुगेको छ ।

अस्पतालबाट निस्कने कतिपय प्रकारका फोहोरलाई मेसिनले टुक्र्याएर जलाउने भएपनि त्यहाँबाट उत्पन्न हुने दुर्गन्धले आसपासका बासिन्दालाई असर पुग्ने गरेको स्थानीयले बताएका छन् । फाहोर जलाउदा निस्कने दुर्गन्ध र धुँवा संगम टोल, खरखरे आम्दा, एभरेष्ट लाइनका घर भित्रै पुग्ने गरेको स्थानीयले गुनासो गरेका छन् । ‘अस्पतालको फोहोरलाई व्यवस्थित नगर्दा दुर्गन्ध घरसम्म आउँछ’ दमक—२, संगम टोलकी सीता श्रेष्ठले भनिन्, ‘फोहोर जलाएको बेला निस्किएको धुँवा घरभित्रै पस्छ ।’

अस्पतालजन्य फाहोर खुल्ला ठाउँमा राख्दा वा त्यसबाट निस्कने धुँवा हावाको माध्यमबाट संक्रमण फैलन सक्ने भएको पनि अस्पतालले मानव स्वास्थ्यमा चासो देखाएको छैन । फाहोर र प्रदुषण कै कारण पहिले भन्दा धेरै लामखुट्टे, झिँगा लाग्ने गरेकोले स्थानियहरु झाडापखाला लगायतका संक्रमण फैलनेमा चिन्तित छन् ।

फोहोरमैला उचित व्यवस्थापनका लागि आफुहरुले नगरपालिका र अस्पताल प्रशासन छलफल गरेपनि कसैले चासो नदिएको स्थानीयको भनाई छ । ‘फोहोरको गन्धले बस्नै नसक्ने भइसक्यौँ’ स्थानीय पृथ्वीबहादुर धिमालले भने, ‘अस्पताल प्रशासन र नगरपालिकालाई धेरै पटक भन्यौँ, तर कसैले सुनेनन् ।’
स्थानीयका अनुसार अस्पताल प्रशासनले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्य सँगै पर्यावरणमा समेत प्रतिकुल असर पर्दै गएको छ ।

चिकित्सकका अनुसार स्वास्थ्य संस्थाहरुबाट निष्कने प्लाष्टिकजन्य फोहोरहरुलाई जलाउँदा हावासँगै डायोक्सिन नामक अति विषालु क्यान्सरजन्य ग्याँस हावामा फैलिने र औषधीका सिसाहरु तथा त्यसमा बाँकी झोल औषधी, औषधीको पाताहरुलाई उचित प्रशोधन विना माटो या पानीमा मिल्न दिँदा माटोको उर्वराशक्तिमा, जलाशयहरुको पानीको गुणस्तरमा तथा जलचर प्राणीहरुमा एकदमै नकारात्मक प्रभाव पर्छ ।

अस्पताल प्रशासनले भने अस्पतालबाट निस्कने फोहोरलाई अति जोखिम, कम जोखिम र जोखिममुक्त गरि तिन भागमा वर्गिकरण गरेर जलाउने, गाड्ने वा नष्ट गर्ने गरेको जनाएको छ । अस्पताल छेउछाउ बस्ती बढ्दै गएकाले आगामी दिनमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गरेर काम गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन ढकालले बताउनुभयो । ‘हाम्रो अस्पतालको मात्रै होइन, दमकका अरु अस्पताललाई पनि फोहोर व्यवस्थापनमा समस्या छ’ आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नविन ढकालले भने, ‘नगरपालिकासँग यस विषयमा छलफल भइसकेको छ, चाँडै फाहोर व्यवस्थापन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV