२७ आश्विन २०७५, शनिबार

दाङ, २७ असोज । थारु समुदायको सहभागिताविना प्रदेशको समृद्धि असम्भव रहेको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले बताए ।

तस्वीर : नारायणी रजौरे । तस्बिरः दाङ, रासस

थारु पत्रकार सङ्घको राष्ट्रिय भेलालाई आज घोराहीमा सम्बोधन गर्दै थारु समुदाय प्रदेश नं ५ को प्रमुख हिस्सा रहेको विचार व्यक्त गरे । उनले प्रदेशकै गहनाका रुपमा रहेका थारु समुदायको विकास र स्तरोन्नतिले मात्रै प्रदेशको विकास सम्भव रहेकाले सबै क्षेत्रमा उनीहरुको सहभागिता अपरिहार्य रहेको बताए ।

प्रदेशको समृद्धि जनताको खुशीसँग जोड्न चाहेको भन्दै मुख्यमन्त्री पोख्रेलले थारु भाषालाई प्रदेशको भाषाका रुपमा अगाडि बढाउन सिद्धान्ततः प्रतिबद्ध रहेको भनाइ राखे  । तर भाषा आयोगको प्रतिवेदनपछि मात्रै निर्णय हुने मुख्यमन्त्री पोखे्रलको भनाइ छ ।

“भाषा जोगाउने भनेको समाजले हो । पुस्तकालय, सङ्ग्रालय र किताबले भाषा जोगाउँदैन”, मुख्यमन्त्री पोख्रेलले भने , “पाली भाषामा किताब छन्, संस्कृत भाषामा बनेका धेरै किताब छन् । तर समाजमा ती भाषा छैनन् । त्यसैले समाजले मात्रै भाषा जोगाउन सक्छ ।” भाषालाई जीवन्त बनाउन अन्य भाषाबाट शब्द पैँचो लिनुपर्ने उनको भनाइ छ । भाषाको विकासका लागि सोंच साँघुरोभन्दा पनि उद्धार बनाउनुपर्ने बताउए ।

साथै मुख्यमन्त्री पोख्रेलले नेपालको सङ्घीयता वित्तीय तथा प्रशासनिक क्षेत्रमा अझै प्रवेश नगरेको बताउनुभयो । तर बजारमा सङ्घीयता महङ्गो हुन थालेको चर्चा भएको उनको गुनासो छ । एउटा पालिकाले गरेको कामलाई लिएर सम्पूर्ण देशको अवस्था चित्रण गर्नु सङ्घीयता विरोधी गतिविधि भएको उनको भनाइ छ ।

सोही अवसरमा प्रतिनिधिसभाका सांसद सुजीता शाक्य, शान्ता चौधरी, मेटमणि चौधरी, प्रदेश सांसद उत्तर कुमारवली, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रलेलगायतका वक्ताले थारु समुदायको उन्नति तथा समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV