२७ आश्विन २०७५, शनिबार

काठमाडौं, २७ असोज । नेपालीका ठूला चाडपर्वलाई थप विशेष बनाइदिन्छ गीत–संगीतले । र, दसैं भन्ने बित्तिकै आउँछ, मालश्री धुन । ठाउँ र जात–जातिअनुसार फरक भएपनि मालश्री धुनले दसैंको रौनकमा उत्साह थपिदिन्छ ।

यो कर्णप्रिय धुनका सर्जक अज्ञात रहेजस्तै सुरुवात पनि कहिलेबाट भएको हो भन्ने यकिन तथ्य छैन । तर, समय र ऋतु सूचकका रुपमा झण्डै चारसय बर्षदेखि नेपाली मन–मस्तिष्कमा जोडिएको छ । नेवार समूदायबाट उत्पति भएको मानिने यो धुन सिद्धिनरसिंह मल्लको पालादेखि बढी प्रचलनमा आएको ठानिन्छ ।

सोह्रौं शताब्दीमा महेन्द्र मल्लको राजकीय नेतृत्वका बेला यो धुनलाई परिमार्जित गरेर १२ मासको बनाइएको हो भनिन्छ । हनुमानढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले दसैंभरी नै मालश्री धुन बजाइन्थो । जसलाई पृथ्वीनारायाण शाहले पनि निरन्तरता दिएका थिए । देवीको भक्ति–भावका लागि आवश्यक पर्ने राग मालश्रीबाट उत्पति भएको यो धुन देवीकै गुनगानमा समर्पित भएर बजाउन थालिएको मानिन्छ । मालश्रीले बनाउने र सुन्नेलाई समेत ‘शक्ति’ दिन्छ भन्ने ठानिन्छ । मालश्री कालजयी रहनुको मुख्य कारण हो, यसको मौलिक पक्ष ।

दसैं अवधिभर यो धुन विभिन्न वाद्यवाधनमा सुन्न पाइन्छ । घर, मन्दिर र शक्तिपीठमा यही धुन गुन्जिन्छ । मालश्री धुनका लागि पञ्चेबाजा, मादल, सारंगी, मुरलीलगायत बाजाको प्रयोग हुन्छ । प्रविधिको विकाससँगै मालश्री धुनमा आधुनिक बाजाको प्रयोग गर्न थालिएको छ ।

मालश्री धुनमा सप्त मात्रिकाको गुणगान हुन्छ । जसले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मानिने चाडलाई संकेत गर्छ । मालश्री धुन नेपाली मौलिक पहिचान हो । नौरथा लागेपछि गुन्जने यो धुनलाई गायनमा पनि प्रस्तुत गरिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV