२७ आश्विन २०७५, शनिबार

काठमाडौँ, २७ असोज । ज्येष्ठ नागरिक (वृद्धवृद्धा)को बसोबासका लागि सुविधा सम्पन्न हेरचाह केन्द्र स्थापना गर्न माग गरिएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले दशैँ, नेपाल संवत्, तिहार र छठका अवसरमा आज यहाँ आयोजना गरिएको शुभकामना आदानप्रदान तथा आर्शिवचन कार्यक्रममा सहभागी वक्ताले स्वास्थ्य सेवाका लागि स्याहर केन्द्रको आवश्यकता औँल्याउनुभएका हुन् ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले वृद्ध वृद्धालाई विशेषगरी सन्ततीको स्नेहको खाँचो हुने भए पनि व्यस्त जीवनशैलीका कारण सन्तानले समय दिन नसकिरहेको अवस्थामा उनीलाई निश्चित समय बिताउन हेरचाह केन्द्र आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्रक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर जवराले ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई सामाजिक रुपान्तरण तथा मुलुकको आर्थिक विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

सोही पार्टीका महामन्त्री राजाराम श्रेष्ठ, ज्येष्ठ नागरिक गौरीशङ्कर लालदास, वरिष्ठ पत्रकार पुरु रिसाल, महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठलगायतले जेष्ठ नागरिकको सुरक्षा सुरक्षा र संरक्षणका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले राज्यले प्रत्येक सन्ततीका आम्दानीको १० प्रतिशत अनिवार्य रुपमा कटौती गरी ज्येष्ठ नागरिककलाई वितरण गर्नुपर्ने बताउनुभयो । मुलुकमा हाल करिब २८ लाख ज्येष्ठ नागरिक रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV