२७ आश्विन २०७५, शनिबार
  • प्रकाश सिग्देल,

चितवन, २७ असोज । चितवनको भरतपुर कारागारका कैदी यसपटक सामुहिक भोजमा जुट्ने भएका छन् । दशैं खर्च वापत राज्यले दिने प्रतिव्यक्ति ३ सय रुपैयाँ अपुग हुने भएपछि उनीहरु सामुहिक भोजको तयारीमा जुटेका हुन् ।

सरकारले उपलव्ध गराउने दशैं खर्च प्रतिव्यक्ति ३ सय रुपैयाँ निकै अपुग हुन्छ । सामूहिक भोज गर्दा रकम पनि पुग्ने, कैदीबीच मेलमिलाप रहेको सन्देश पनि जो भएपछि भरतपुर कारागारका कैदी सामुहिक भोजका लागि तयार बनेका छन् ।

खसी र पाडा काटेर भोज गर्ने सहमतिले अधिकांश कैदीमा हर्ष देखिएको छ । उनीहरुले फूलपाती र अष्टमीमा खसी र राँगा काट्ने सहमति गरेका छन् । एकअर्काबीच सुमधुर सम्बन्ध रहेको सन्देश दिन पनि यो आवश्यक भएको कारागारका चौकीदार बताउँछन् ।

सामुहिक भोज मात्र होइन, दशैंको टिका ग्रहणलाई व्यवस्थित बनाउन पनि अग्रसर देखिएका कैदीहरु तल्लिन छन् । उनीहरुको प्रयासमा कारागार प्रशासनले पनि तत्परता देखाएको छ । कैदीका परिवार समेत टिकाका लागि आउने भएकाले सुरक्षाको प्रवन्ध समेत व्यवस्थित गरिने जेलर कमलप्रसाद काफ्लेको भनाई छ ।

भरतपुर कारागारमा ५७ महिला सहित ६ सय ३६ कैदी र १ जना नावालक छन् । मुलुकी अपराध संहिता यसै वर्षबाट लागु भएपछि कार्यविधि नबनेका कारण दशैंमा कैदी छुट्ने छैनन् । यस वर्ष दशैंमा कैदी नछुट्ने भरतपुर कारागारमा चाप समेत बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV